सई नीरबहादुर खड्का कोशी प्रदेशको सर्वोत्कृष्ट प्रहरी

Share this
718shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ६, शुक्रबार १६:०३

विराटनगर । मोरङको इलाका प्रहरी कार्यालय हरैँचाका प्रमुख एवं सई नीरबहादुर खड्का कोशी प्रदेशको सर्वोत्कृट प्रहरी घोषित भएका छन् ।

जेठ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित गरेर खड्कालाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले पुरस्कृत गरेको हो । उनलाई‘वेस्ट पुलिस अफ दी मन्थ’ उपाधि प्रदान गरिएको छ ।

विभागीय मूल्य–मान्यता तथा निर्देशनको पालना गर्दै उच्च मनोबल र साहससहित आफ्नो कर्तव्य निर्वाह गरेका कारण सई खड्कालाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । उनी नेतृत्वको प्रहरी टोलीले गत जेठ २० गते ग्रामथान गाउँपालिका–७ बाट शंकास्पद अवस्थामा रहेका २ जनालाई पक्राउ गरेको थियो ।

२ जना व्यक्तिसहित ३ सय ४७ किलो १ सय १० ग्राम गाँजा नियन्त्रणमा लिन खड्का सफल भएका थिए । फैसला कार्यान्वयनअन्तर्गत कर्तव्य ज्यान मुद्धामा ५ वर्ष कैद सजाय सुनाइएका १ जना फरार अभियुक्तसहित विभिन्न मुद्धामा जरिबाना तोकिएका १४ जना फरार प्रतिवादीलाई कानुनी दायरामा ल्याउन खड्काले विशेष भूमिका खेलेका थिए ।

त्यस्तै, बेपत्ता रहेकी ग्रामथान–७ की ८९ वर्षीया तिलमाया खड्काको खोजतलास गरी ग्रामथान–६ स्थित सुनसरी–मोरङ सिँचाइ आयोजनाको नहरमा डुबेको अवस्थामा शव फेला पारिएको घटनामा पनि खड्काको महत्वपूर्ण भूमिका छ । मृत फेला परेकी वृद्धाले लगाएका सुनका गहना नजिकैको एक घरभित्र माटोमुनि गाडिएको अवस्थामा फेला पारी शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघि बढाएको छ ।

खड्काले आफ्नो क्षेत्रको शान्ति सुरक्षालाई मजबुत पार्दै उल्लेखनीय सफलता हात पारेका छन् । शान्ति सुरक्षा, अपराध नियन्त्रण र अनुसन्धानमा महत्वपूर्ण भूमिका खेलिरहेका खड्कालाई कामकारबाहीको उच्च मूल्यांकन गर्दै प्रदेश प्रहरी कार्यालयले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको हो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.