
विराटनगर । झापाबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर)को कारोबारमा संलग्न युवा–युवती पक्राउ परेका छन् । काठमाडौं र लमजुङका युवा–युवती पक्राउ परेका हुन् ।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागुऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको टोलीले काठमाडौंका २४ वर्षीय निवेश कुँवर र लमजुङकी निजीमा रानामगरलाई शनिबार पक्राउ गरेको हो । कुँवर काठमाडौं महानगरपालिका–२६ र रानामगर लमजुङको क्व्होलासोथार गाउँपालिका–७ का बासिन्दा हुन् ।
काठमाडौं र लमजुङदेखि पूर्वी नेपाल आएर उनीहरुले लागुऔषधको धन्दा चलाइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । दुवै जनालाई प्रहरीले झापाको भद्रपुर नगरपालिका–५ स्थित भन्सार चोकबाट पक्राउ गरेको हो ।
भारतबाट नेपालतर्फ आउँदै गरेको बागमती प्रदेश ०१–०३० च ७७९३ नम्बरको कारलाई रोकेर चेकजाँच गर्दा लागुऔषध खैरो हेरोइन बरामद भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काले बताए । उनका अनुसार कार चालक कुँवर हुन् ।
चालकको सिटभित्र राखिएको अवस्थामा कालो प्लाष्टिकमा लागुऔषध खैरो हेरोइनजस्तो देखिने वस्तु ४७ ग्राम ६ सय ९० मिलिग्राम बरामद भएको जानकारी खड्काले दिए । लागुऔषध बरामद भएसँगै कार चालक कुँवर र कारमा सवार रानामगरलाई पक्राउ गरिएको उनले बताए ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन अदालतबाट म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

























