
विराटनगर । झापा, मोरङ र उदयपुरबाट चोरीमा संलग्न ३ जना पक्राउ परेका छन् ।
कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार पक्राउ पर्नेमा सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–७ का २९ वर्षीय कविन भनिने निरोज लामा, झापाको कन्काई नगरपालिका–३ का २६ वर्षीय विनोद बर्देवा र मोरङको धनपालथान गाउँपालिका–४ का १९ वर्षीय जोसेफ हेमराम रहेका छन् ।
उदयपुरको चौदण्डगढी–३ का पदम राईको घरबाट २०८१ साल मंसिर ३ गते ४ तोला सुनका गहना चोरी भएको थियो । चोरीमा संलग्नको खोजतलास गर्ने क्रममा लामा पक्राउ परेका हुन् ।
त्यस्तै, झापाको कनकाई नगरपालिका–३ का रविन विश्वकर्माको घरबाट आइतबार टिभी, फ्रिजलगायतका घरसायी सामान चोरी भएको थियो । घरमा कोही पनि नभएको अवस्थामा सामान चोरी भएका थिए ।
बर्देवाले चोरी गरेको पाइएपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार बर्देवा विश्वकर्माकै घरमा डेरा बस्दै आएका थिए ।
मोरङको जहदा गाउँपालिका–४ बाट आइतबार प्रदेश १–०२–०४३ प ८५७१ नम्बरको मोटरसाइकल चोरी भएको थियो । पार्किङ गरेर राखेको मोटरसाइकल चोरी गरेको पाइएपछि हेमरामलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चोरीको आरोपमा पक्राउ परेकाविरुद्ध चोरी मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























