कारागार चलान गर्न लगिएका प्रतिवादी मोरङ अदालत परिसरबाटै फरार

Share this
685shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार ९, सोमबार २०:२९

विराटनगर । कारागार चलान गर्न लगिएका १ जना प्रतिवादी जिल्ला अदालत मोरङ परिसरबाटै सोमबार फरार भएका छन् ।

अदालतले दोषी ठहर गरिसकेका विराटनगर महानगरपालिका–१३ का ४० वर्षीय विजय शंकर झा अदालत परिसरबाटै दिउँसो ३ बजेतिर फरार भएका हुन् । झालाई सुनसरीको दुहबीबाट आइतबार पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय मोरङ ल्याइएको थियो ।

चेक अनादर मुद्दामा मोरङ अदालतबाट दोषी ठहर भएका उनी सजाय भुक्तान नगरिकन फरार बनेका थिए । नागेश्वरप्रसाद साहले ७ लाख ५० हजार बिगो र त्यसको ब्याज दाबी गरेर झाविरुद्ध अदालतमा फिरादपत्र दर्ता गराएका थिए ।

अदालतले २०८० साल माघ २३ गते झाबाट बिगोबापतको रकम र ब्याज भराउनुपर्ने फैसला गरेको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताए । उनका अनुसार फैसला बमोजिम झाले रकम नतिरेपछि उनलाई कैद राखिदिनुपर्ने माग गर्दै साह पुनः अदालत पुगेका थिए ।

फैसला अनुसार आफूले रकम नपाएका कारण झालाई कैदमा राखिदिनुपर्ने माग गर्दै साहले अदालतमा निवेदन दिए । साहकै माग बमोजिम झालाई २ वर्ष कैदमा राख्न अदालतबाट आदेश भएको सूचना अधिकारी बुढाथोकीले बताए ।

तर, झा कैद भुक्तान नगरिकन भागिरहेका थिए । विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको टोलीले दुहबीबाट पक्राउ गरेर कारागार चलानका लागि सोमबार अदालतमा पेस गर्न लगेको थियो । प्रहरीले फरार प्रतिवादीलाई पक्राउ गरेर अदालतमा बुझाउने गरेको छ ।

प्रहरीले बुझाएपछि अदालतले सजाय भुक्तान गर्न कारागार चलान गर्नुपर्ने हुन्थ्यो । तर, पिसाब गर्न शौचालय जान्छु भनेर प्रहरीलाई छल्दै झा फरार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् ।

झालाई अदालतमा पेस गर्नका लागि प्रहरी हवल्दार विकास सिंहको टोलीले बुझेर लगेको थियो । तर, ‘शौचालय जान्छु’ भन्दै फरार भएपछि अदालतले कारागार चलान गर्न सकेन ।

डीएसपी चुँडालले फरार भएका झाको खोजी तीव्र पारिएको बताइन् । ‘घटनामा लापरबाही देखिएकाले प्रहरीमाथि छानबिन सुरु गरिएको छ । प्रहरीले निगरानीमा राख्न नसक्दा कारागार चलान गर्नुपर्ने प्रतिवादी अदालत परिसरबाटै फरार भएको पाइयो,’ उनले भनिन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.