मोरङमा ११ जना चालकको लापसे ‘रिपोर्ट पोजिटिभ’

Share this
739shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १०, मंगलबार १६:५९

विराटनगर । लागुऔषध सेवन गरेर सवारीसाधन चलाउने ११ जना चालकलाई ट्राफिक प्रहरीले मोरङको नेमुवाबाट नियन्त्रणमा लिएको छ ।

सडक सुशासन, ट्राफिक नियमबारे सवारी चालक र सर्वसाधारणलाई जानकारी गराउने उद्देश्यले सञ्चालित ट्राफिक सप्ताहअन्तर्गत लागु पदार्थ सेवन (लापसे) परीक्षण गर्दा ११ जनाको ‘रिपोर्ट पोजिटिभ’ आएको मोरङका ट्राफिक प्रमुख इन्सपेक्टर राजन लम्सालले जानकारी दिए । उनका अनुसार बुढीगंगा–४ स्थित नेमुवामा लापसे र मादक पदार्थ सेवन (मापसे)को परीक्षण गर्दा चालकले लापसे गरेर सवारी चलाएको भेटिएको हो ।

शंका लागि चेकजाँच गरिएको १० वटा बसका चालकमध्ये २ जनाले लापसे गरेको भेटिएको थियो । म्याजिक भ्यानका १० जना चालकमध्ये ३ जनाले गरेको फेला परेको थियो ।

त्यस्तै, सानो गाडीका ८ जना चालकमध्ये १ जना, स्कुटर चालक ४ जनामध्ये २ जना, मोटरसाइकल चालक ६ जनामध्ये ३ जनाले लापसे गरेको पाइएको लम्सालले बताए । लापसे गरेर सवारीसाधन चलाउनेहरुमाथि प्रहरीले अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.