मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबिच साझेदारी

Share this
715shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार १९, बिहीबार १९:३७

विराटनगर । मोरङ उद्योग व्यापार संघ र त्रिभुवन विश्वविद्यालयबिच साझेदारी गर्ने समझदारी भएको छ ।

विद्यार्थीलाई व्यावहारिक ज्ञान, प्रत्यक्ष अनुभव तथा अनुसन्धानमा सहयोग पुर्‍याउने विषयमा दुवै संस्थाबिचमा समझदारी भएको हो ।

बिहीबार काठमाडौंमा आयोजित कार्यक्रममा दुई पक्षले समझदारी पत्रमा हस्ताक्षर गरे । समझदारी पत्रमा संघका तर्फबाट अध्यक्ष अनुपम राठी र त्रिभुवन विश्वविद्यालयका तर्फबाट प्रा. डा. केदारप्रसाद रिजालले हस्ताक्षर गरे ।

हस्ताक्षर कार्यक्रममा संघका महासचिव सञ्जयकुमार श्रेष्ठ र कार्य समिति सदस्य द्वय डा. वन्दना जैन र गोपाल अग्रवाल तथा त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसेको उपस्थिति थियो।

यो समझदारी अनुसार विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक सशक्तीकरणका लागि इन्टर्नसिप, अनुभव जन्य शिक्षा, औद्योगिक भ्रमण, संरक्षकत्व तथा मार्गदर्शन जस्ता व्यवहारिक स्रोतहरू उपलब्ध गराइने भएको छ।

मोरङ उद्योग वाणिज्य संघको पहुँचमा रहेका निजी क्षेत्रका उद्योग –व्यावसायिक संस्थाहरू मार्फत गरिने छ ।

यसले नेपालमा सीपमा आधारित रोजगारी तथा ‘प्लेसमेन्ट’ का लागि स्वस्थ वातावरण निर्माणमा योगदान पुर्‍याउने दुवै पक्षले विश्वास व्यक्त गरेका छन्।

समझदारी अनुसार संघको संस्थागत उद्देश्य पूरा गर्नका लागि त्रिभुवन विश्वविद्यालयले विषयगत विद्यार्थी वा स्रोत व्यक्तिहरू प्रदान गर्ने छ ।

यसले अनुसन्धान, छलफल, अन्तरक्रिया तथा प्रतिवेदन तयारी जस्ता कामहरूमा सहयोग पुर्‍याउने जनाइएको छ ।

यसैगरी, औद्योगिक, आर्थिक, वातावरणीय नीति, आपूर्ति श्रृंखलाको सुधारमा पनि टेवा पुर्‍याउने विश्वास दुई संस्थाको छ ।

उपलब्ध संकाय सदस्य, विशेषज्ञ तथा विज्ञहरूले सामाजिक, शैक्षिक, औद्योगिक, वैज्ञानिक तथा अन्य सान्दर्भिक विषयमा अनुसन्धान तथा ‘केस स्टडी’ गर्ने छन् ।

तथ्यमा आधारित निष्कर्ष संकलन, मस्यौदा तयार गर्ने र मोरङ उद्योग व्यापार संघ तथा त्रिविमा प्रकाशित गर्ने छन् ।

यसैगरी, त्रिविले उद्योग, व्यापार, बजार र वातावरणसँग सम्बन्धित समस्याहरूको अनुसन्धान, अध्ययन, पहिचान र प्रसारण गर्नका लागि विषयमा आधारित विद्यार्थीहरू तथा स्रोत व्यक्तिहरू उपलब्ध गराउने छ ।

निजी क्षेत्रको पहिलो व्यावसायिक संस्था मोरङ उद्योग व्यापार संघमा ६ सयभन्दा बढी उद्योगहरू आबद्ध भएकाले यसको आफ्नै व्यावसायिक सञ्जाल विस्तार भएको छ ।

यसैगरी, समझदारीअनुसार कार्यक्रम सञ्चालन गर्न संघले अन्य उद्योग वाणिज्य खसहरूसँग पनि समन्वय र सहकार्य गर्ने अध्यक्ष राठीले बताए ।

यस्तै, सिकाइ अनुभवमा वृद्धिको अवसर, सीप विकास, रोजगारीको सम्भाव्यता, अनुसन्धान, संवाद, सञ्जाल निर्माण तथा उद्योगसम्बन्धी समस्या पहिचान गरी तिनको समाधान गर्न आपसी सहयोगमा पहल गर्ने समझदारी पनि भएको अध्यक्ष राठीले जानकारी दिए ।

संघका अध्यक्ष राठीले उक्त समझदारी पत्रको अवधि ५ वर्षको हुने बताए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.