
विराटनगर । मोरङको कटहरी गाउँपालिका–४, चमडाइस्थित श्रीराम रिफाइन फ्याक्ट्रीबाट निस्किएको प्रदूषणका कारण दैनिक जीवन कष्टकर बन्दै गएको छ ।
प्रदूषण रोक्नुपर्ने माग राखेर स्थानीय आन्दोलित बनेका छन् । उनीहरुले फ्याक्ट्रीविरुद्ध प्रदर्शन गरेका हुन् । उद्योगबाट उडेको परालको छाइ, धुलो र दुर्गन्धले वरपरका बस्तीमा स्वास्थ्य एवं वातावरणीय संकट सिर्जना भएपछि स्थानीय बासिन्दा सडकमा उत्रिएका छन् ।
करिब ३ सय घरधुरी प्रत्यक्ष प्रभावित भएको स्थानीयको भनाइ छ। उनीहरूका अनुसार पराल जलाउँदा आउने छाइ हावासँगै गाउँसम्म फैलिन्छ । जसका कारण घरबाहिर लुगा सुकाउन समेत सकिने अवस्था छैन। परालको धुलोसँगै आउने गन्हाउने गन्ध र धुवाँले ज्येष्ठ नागरिक, बालबालिकादेखि सबै उमेर समूहका मानिस प्रभावित छन् । रुघा, खोकी, ज्वरो लगायतका स्वास्थ्य समस्या लगातार देखिन थालेका छन्।
स्थानीय जानुका पोखरेलले भनिन्, ‘हामीले पटक–पटक फ्याक्ट्री सञ्चालकलाई छाइ र दुर्गन्ध नियन्त्रण गर्न भनेका थियौं। तर, जहिले पनि छल्ने काम मात्र भयो। त्यही भएर विरोधमा उत्रनुपरेको हो ।’ अर्की स्थानीय मुना दाहालको गुनासो पनि उस्तै छ । ‘बाहिर लुगा सुकाउँदा छाइले टाटा बस्छ। बच्चाबच्ची र बुढाबूढीलाई श्वास फेर्न हुन्छ । यो स्थिति हामीले सहनै नसक्ने भइसकेको छ,’ उनले भनिन् ।
स्थानीय मीना निरौलाले भनिन् , ‘हामीले उद्योग बन्द गर्नु भन्न खोजेका छैनौं। तर, उद्योग चलाउने हो भने प्रदूषण नियन्त्रण गरेर चलाउनु पर्छ भन्ने हो। बारम्बार गुनासो गर्दा पनि सुनुवाइ नहुँदा हामी आन्दोलित भएका हौं।’
उद्योगी अशोक मुरारकाको स्वामित्वमा रहेको यो रिफाइन फ्याक्ट्रीविरुद्ध स्थानीय लामो समयदेखि असन्तुष्ट छन्। पटक–पटक स्थानीयको गुनासो बेवास्ता गर्दै आएको आरोप मुरारकामाथि लागिरहेको छ ।
मुरारकाले भने समस्या चाँडै समाधान हुने दाबी गरेका छन्। उनले भने, ‘१ महिनाभित्र छाइ र प्रदूषण नियन्त्रण गरिनेछ। नयाँ प्रविधि र मेशिन जडान गर्ने काम सुरु भइसकेको छ।’ उनले स्थानीयको समस्या आफूले बुझेको र समाधानका लागि प्रतिवद्ध रहेको बताए।
तर, प्रदूषण नियन्त्रण विशेषज्ञ शिला शर्माको मूल्यांकन अनुसार, उद्योगले वातावरणीय मापदण्ड पालना नगर्दा यस किसिमको समस्या देखिएको हो। उद्योग सञ्चालन गर्नुअघि वातावरण प्रभाव मूल्यांकन गर्नैपर्छ र त्यसअनुसार सञ्चालन गर्न प्रतिवद्धता जनाइन्छ। तर, नेपालको नियामक प्रणाली कमजोर छ। सरोकारवालाहका अनुसार सरकारी निकायले कडाइपूर्वक अनुगमन नगर्दा उद्योगहरूले मनलाग्दी गर्दै आएको र त्यसको प्रत्यक्ष मार सर्वसाधारणले खेप्नुपरेको छ ।
शर्माले श्रीराम रिफाइन फ्याक्ट्रीको घटनालाई उदाहरणका रूपमा उल्लेख गर्दै भनिन्, ‘कुनै पनि उद्योग, कलकारखाना वा निर्माण कार्यले वातावरणमा पार्ने असरको अवलोकन नगरी सञ्चालन गरिनु हुँदैन। उद्योगले धुलो, धुवाँ, रसायन आदिको न्यूनतम उत्सर्जनमा ध्यान दिनुपर्छ। यस्ता प्रदूषणजन्य क्रियाकलापले दीर्घकालीन स्वास्थ्य समस्या उत्पन्न गर्न सक्छ।’
स्थानीयले तत्काल प्रदूषण न्यूनीकरण नहुने हो भने विरोधका कार्यक्रमहरू अझ तीव्र बनाउने चेतावनी दिएका छन्। गाउँलेहरूले उद्योग अगाडि धर्ना, पुतला दहन र सडक अवरुद्ध गर्ने जस्ता कार्यक्रमको तयारी थालेका छन्। फ्याक्ट्री सञ्चालक र स्थानीयबीच हालसम्म ठोस सहमति नभएकाले समस्या चुलिन सक्ने देखिन्छ। यसले कटहरी गाउँपालिकाको सामाजिक शान्ति र जनस्वास्थ्यमा दीर्घकालीन असर पार्न सक्ने विज्ञहरूको चेतावनी छ।
सरकारले यथाशीघ्र प्रदूषण नियमनका लागि प्रभावकारी हस्तक्षेप नगरे प्रदूषणजन्य औद्योगिक क्षेत्रहरूमा यस्ता समस्या अन्यत्र पनि दोहोरिने सम्भावना प्रवल रहेको छ। स्थानीयको आवाजलाई राज्यले सुन्ने कि नटेर्ने भन्ने प्रश्न यतिखेर सबैको चासोको विषय बनेको छ।



























