
काठमाडौं । सुनको बजार मूल्य निर्धारण नभएको एक साता पुगेको छ । व्यवसायी विरोधमा उत्रिएपछि एक सातादेखि सुनको मूल्य निर्धारण नभएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले हरेक दिन सुनको भाउ निर्धारण गर्छ । तर महासंघ आन्दोलनमा रहेका कारण असार १९ गते यता निर्धारण भएको छैन ।
महासंघका वरिष्ठ उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यले व्यवसायी विरोधमा उत्रिएर कारोबार ठप्प रहेका कारण मूल्य सार्वजनिक नगरिएको जानकारी दिए । असार १९ गते प्रतितोला १ लाख ९२ हजार १ सय रुपैयाँ तोकिएको थियो ।
सरकारले आर्थिक विधेयकमार्फत सुनका गरगहना खरिदमा २ प्रतिशत बिलासी शुल्क लगाएको छ । बहुमूल्य हिरा तथा पत्थरमा १३ प्रतिशत भ्याट लगाएको छ । करको विरोधमा व्यवसायी आन्दोलनमा उत्रिएका हुन् ।

























