सरकारसँग ६ बुँदे सहमतिपछि सुनचाँदी व्यवसायीको आन्दोलन फिर्ता

Share this
706shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ असार २७, शुक्रबार ०८:५६

काठमाडौं । सुनचाँदी व्यवसायीले झन्डै १ महिनादेखि जारी आन्दोलनका सम्पूर्ण कार्यक्रम फिर्ता लिएका छन् । व्यवसायीको आन्दोलन बिहीबारबाट स्थगित भएको हो ।

सरकारले व्यवसायीको माग सम्बोधन गर्ने भएको छ । सरकार र व्यवसायीबीचको वार्तामा ६ बुँदे सहमति भएपछि आन्दोलन रोकिएको हो । आन्दोलन स्थगनसँगै अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्ने भएका छन् ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अर्थ मन्त्रालयमा बिहीबार बसेको वार्ताबाट व्यवसायीको आन्दोलन स्थगित गर्ने निर्णय भएको हो । महासंघ, नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघलगायतका व्यवसायी संगठन, प्रतिनिधि र सरकारी अधिकारीबीच छलफल भएको थियो ।

आर्थिक वर्ष २०८२–०८३ को बजेटमा सरकारले सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) लागू गर्ने व्यवस्था गरेको थियो । यसले उपभोक्तालाई प्रत्यक्ष असर गर्नुका साथै सुनचाँदी बजारमा विकृति ल्याउने भन्दै व्यवसायीले करिब १ महिनादेखि आन्दोलित बनेका थिए ।

देशभरका पसलहरू बन्द गरेर व्यवसायी आन्दोलनमा उत्रदा सुनचाँदीको कारोबार ठप्प भएको थियो । पसल बन्दपछि देशभर सुनचाँदीको दैनिक भाउ तोकिने क्रम पनि रोकिएको थियो । आन्दोलनले आमउपभोक्ता र व्यवसायी दुवै समस्यामा परेका थिए ।

सहमति पत्रमा अर्थ मन्त्रालयका सहसचिव उत्तरकुमार खत्री, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव विपिन आचार्य, आन्तरिक राजस्व विभागका महानिर्देशक मदन दाहाल, भन्सार विभागका महानिर्देशक महेश भट्टराई, नेपाल राष्ट्र बैंकका निर्देशक राजेन्द्र भट्टराई, नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष अर्जुन रसाईली र नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष किसान सुनारलगायतले हस्ताक्षर गरेका छन् ।

व्यवसायीहरूका मागबारे अध्ययन गर्न कार्यदल गठन गरिएको छ । उक्त कार्यदलले केही हप्ताभित्र प्रतिवेदन दिने अपेक्षा गरिएको छ । त्यही प्रतिवेदनको आधारमा कर र भ्याटको दरबारे सरकारको अन्तिम निर्णय आउनेछ । व्यवसायीहरूको भनाइमा कर फिर्ता नभए आन्दोलनको अर्को चरण सुरु हुन सक्ने सम्भावना पनि छ । तर, हालका लागि वार्ताबाटै समाधानको समाधान भएको छ ।

यस्तो छ ६ बुँदे सहमति

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.