
काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०८२–०८३ को मौद्रिक नीति शुक्रबार सार्वजनिक गरेको छ । गभर्नर प्रा. डा. विश्वनाथ पौडेलले मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।
केन्द्रीय बैंक राष्ट्रिय परिदृष्यलाई मध्यनजर गर्दै सुस्त अर्थतन्त्र गतिशील बनाउन सजगतापूर्वक लचिलो मौद्रिक नीति ल्याएको हो । राष्ट्र बैंकले आगामी मौद्रिक नीतिमार्फत नीतिगत दर घटाएको छ ।
स्थायी तरलता दर अर्थात् बैंक दर ०.५ प्रतिशत बिन्दुले घटाइ ६ प्रतिशतमा झारेको छ । नीतिगत दर ५ प्रतिशतबाट घटाएर ४.५ प्रतिशत बनाइएको छ । साथै, स्थायी निक्षेप संकलन दर पनि ३ प्रतिशतबाट घटाएर २.७५ प्रतिशत बनाइएको छ ।
आगामी आर्थिक वर्षको मौद्रिक नीतिले बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जा वृद्धि १२ प्रतिशत प्रक्षेपण गरेको छ । अधिक तरलताले ब्याजदर घटाएको सहज परिस्थितिमा मौद्रिक नीतिको कार्यदिशा लचिलो अवलम्बन गरिएको पौडेलको भनाइ छ ।
सरकारले आगामी आवको आर्थिक वृद्धिदर ६ प्रतिशत हुने प्रक्षेपण गरेको छ भने मूल्यवृद्धि ५.५ प्रतिशतभित्र राख्ने लक्ष्य राखेको छ । व्यक्तिलाई बैंक तथा वित्तीय संस्थाले दिने सेयर धितो कर्जामा सीमा बढाइएको छ ।
व्यक्तिलाई दिइँदै आएको अधिकतम कर्जाको सीमा बढाइएको घोषणा पौडेलले गरेका हुन् । यसअघि व्यक्तिलाई दिइँदै आएको सेयर धितो कर्जा सीमा १५ करोड रहेकोमा त्यसलाई बढाएर २५ करोड पुर्याइएको छ ।
धितो राखिने सेयरको पछिल्लो १८० दिनको औसत मूल्य वा पछिल्लो बजार मूल्यमध्ये जुन थोरै हुन्छ । त्यही रकमको ७० प्रतिशत बैंकहरूले सेयर धितोमा कर्जा दिँदै आएका छन् । यस्तो कर्जा जेठ मसान्तसम्म १ खर्ब २८ अर्ब प्रवाह भएको छ ।
त्यस्तै, विदेश भ्रमणमा जाने नेपालीले लैजान पाउने रकमको सीमा बढाएर ३ हजार अमेरिकी डलर पुर्याइएको छ । हाल यसको सीमा २ हजार ५ सय डलर मात्रै थियो ।
यस्तो छ मौद्रिक नीतिको पूर्णपाठ



















