इटहरीबाट ‘डार्क फाइल’का अभियुक्त राजकुमार तिम्सिना पक्राउ

Share this
681shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ५, सोमबार १५:००

विराटनगर । सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर ‘फेक अडियो’ बनाउने राजकुमार तिम्सिना सुनसरीको इटहरीबाट पक्राउ परेका छन् ।

इलाका प्रहरी कार्यालय इटहरीले उनलाई पक्राउ गरेको हो । ‘फेक अडियो’ प्रकरणमा सर्वोच्च अदालतबाट ६ महिना कैदको फैसला भएका तिम्सिनालाई आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । सर्वोच्चको फैसलापछि उनी फरार थिए ।

इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीका अनुसार इटहरी उपमहानगरपालिका– ५ पचरुकीबाट तिम्सिनालाई पक्राउ गरिएको हो । महिलाबीचको लेनदेन विवादमा जोडिएपछि तिम्सिना पक्राउ परेका हुन् ।

डीएसपी भण्डारीका अनुसार तिम्सिनाले सुरुमा आफ्नो नाम र ठेगाना लुकाएका थिए । सुरुमा घर इलाम र आफ्नो थर खड्का बताए । नाम पनि अर्कै भने । ‘परिचयपत्र मागेर सोधीखोजी गर्दा वास्तविक परिचय खुल्यो,’ भण्डारीले भने, ‘सर्वोच्चको फैसलाका कारण उहाँलाई नियन्त्रणमा राखेका छौं ।’

तिम्सिनालाई फैसला कायान्वयनका लागि कारागार पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ । सर्वोच्च अदालतको बृहत पूर्ण इजलासले गत असोज १४ गते तिमल्सिनालाई ६ महिना कैदको फैसला सुनाएको थियो ।

प्रहरीका अनुसार इटहरी–५ पचरुकी चोकमा २ जना महिलाबीच लेनदेनको विवाद थियो । विवाद भएको सूचना पाएपछि प्रहरी घटनास्थल पुग्यो । तिम्सिना त्यहीँ भेटिए ।

महिलाहरुबीचको विवादमा जोडिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लियो । नियन्त्रणमा लिएर सोधीखोजी गर्दा उनी फरार अभियुक्त भएको पत्ता लाग्यो । इलाका प्रहरी कार्यालय इटहरीमा ल्याउँदासम्म उनी फरार अभियुक्त हुन भन्ने खुलेको थिएन । परिचयपत्र हेरेर थप विवरण बुझ्न थालेपछि प्रहरीले तिम्सिना फरार अभियुक्त भएको पत्ता लगायो ।

ललितपुरको गोदाबारी–१० ठेगाना भएका तिम्सिना सर्वोच्चको फैसला पछि पर्व क्षेत्रमा थिए । प्रहरीसँगको बयानमा उनले आफू धनकुटामा बसेर काठको काम गर्दै आएको बताएका छन् ।

सर्वोच्च अदालतका न्यायाधीश, कानुन व्यवसायी र सञ्चार उद्यमीलाई जोडेर ‘फेक अडियो’ तयार पार्दै ‘डार्क फाइल’ नाम दिएर एउटा अनलाइनमार्फत समाचार तथा अडियो सम्प्रेषण गरिएको थियो । त्यसपछि सिधाकुरा नामक अनलाइन तथा युट्युब च्यानलका सञ्चालक तथा अध्यक्ष युवराज कँडेल, सम्पादक नवीन ढुंगाना र अडियो उपब्ध गराउने राजकुमार तिम्सिनाविरुद्ध अदालतमा मुद्दा दर्ता भएको थियो ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.