
विराटनगर । आफ्नै अनुयायीमाथि जबरजस्ती करणी गरेको आरोप लागेका विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरी विरुद्धको मुद्दामा महान्यायाधिवक्ताको कार्यालयले सर्वोच्च अदालतमा पुनरावेदन नगर्ने निर्णय गरेको छ ।
यो निर्णयसँगै गिरीलाई सफाइ दिने उच्च अदालत विराटनगरको फैसला नै अन्तिम भएको छ । जिल्ला अदालत सुनसरीले सिद्धबाबालाई सफाइ दिएको थियाे । उच्च अदालत विराटनगरले जिल्लाकाे फैसला सदर गरेको थियो ।
उच्च सरकारी वकिलको कार्यालय, विराटनगरले मुद्दालाई सर्वोच्च अदालतमा दोहोर्याउनका लागि रायसहित पठाए पनि महान्यायाधिवक्ताको कार्यालयले असार १७ गते पुनरावेदन नगर्ने निर्णय गरेको हो ।
यो निर्णय राजनीतिक दबाब र पहुँचका आधारमा भएको आरोप लागेको छ । महान्यायाधिवक्ता कार्यालयका स्रोतले राजनीतिक नेतृत्वको हस्तक्षेपका कारण यस्तो निर्णय भएको जानकारी दिएका छन् ।
गिरीमाथि आफ्नै एक अनुयायीलाई २०७६ कात्तिक ४ गते राति चतरास्थित आश्रममा जबरजस्ती करणी गरेको आरोप लागेको थियो।
यस मुद्दामा सुनसरी जिल्ला अदालतले सुरुमा गिरीलाई सफाइ दिएको थियो । पछि उच्च अदालत विराटनगरले प्रमाणको पुनर्मूल्याङ्कन गर्न भन्दै मुद्दालाई जिल्ला अदालतमै फर्काइदियो । दोस्रो पटकको सुनुवाइमा पनि जिल्ला अदालतले गिरीलाई सफाइ दियो, जसलाई उच्च अदालत विराटनगरले सदर गरेको थियो ।

























