कोशी प्रदेशमा लागुऔषधविरुद्ध आक्रामक अभियान, १ वर्षमा १,९८५ जना पक्राउ

Share this
735shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ साउन ८, बिहीबार १२:३९

विराटनगर । कोशी प्रदेशमा लागुऔषध नियन्त्रणका लागि प्रहरीले आक्रामक अभियान सञ्चालन गरिरहेको छ । प्रहरीले १ वर्षको अवधिमा लागुऔषधसहित १ हजार ९ सय ८५ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा लागुऔषधको ओसारपसार, भण्डारण र कारोबारमा संलग्नहरु रहेका छन् । आर्थिक वर्ष २०८१–८२ मा चरेश, अफिम, ब्राउन सुगर (खैरो हेरोइन) र विभिन्न प्रकारका लागुऔषध बरामद भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

मानव जीवनमा लागुऔषधको प्रयोगले गम्भीर नकारात्मक असर पार्ने, व्यक्तिको मानसिक सन्तुलन बिगार्ने र यसले परिवार, समाज र राष्ट्रमै दीर्घकालीन क्षति पुर्याउने निष्कर्षका साथ प्रहरी क्रियाशील बनेको हो । लागुऔषधको प्रयोग र कारोबारसँगै विभिन्न अपराध बढेका छन् । हत्या, लुटपाट, चोरीजस्ता आपराधिक गतिविधि बढ्ने सम्भावना उच्च हुने भएकाले यसलाई निर्मूल पार्न प्रहरी सक्रियता बढाइएको प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले बताए ।

उनका अनुसार अभियानलाई प्रभावकारी बनाउन कानुनी चेतना र सामाजिक उत्तरदायित्वमा जोड दिँदै ‘लागुऔषधको प्रयोग, ओसारपसार र बेचबिखन कानुनी अपराध हो’ भन्ने सन्देशका साथ नीतिगत, भौतिक र मनोवैज्ञानिक स्तरमा एकीकृत रणनीति अवलम्बन गरिएको छ । लागुऔषधको कुलतमा लागेका युवाहरूलाई पुनर्स्थापना गराउन, सुधारको बाटो देखाउन तथा समुदायस्तरमा चेतना फैलाउन प्रहरी सक्रिय रहेको डीआईजी कार्की बताउँछन् ।

त्यसका लागि फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स) नाम कार्यक्रम सञ्चालन गर्नुका साथै प्रदेश सरकार, स्थानीय तह तथा सरोकारवाला संघ संस्थाहरूसँगको समन्वयमा चेतनामूलक कार्यक्रम निरन्तर सञ्चालन हुँदै आएको छ । युवाहरूलाई कुलतबाट बचाउने उद्देश्यले सञ्चारमाध्यमहरूसँग सहकार्य गर्दै श्रव्यदृश्य सामग्री निर्माण गरी सचेतना अभियान चलाइएको छ ।

लागुऔषध ओसारपसारको सञ्जाललाई तोड्न प्रहरीले राजमार्ग, भित्री सडक, सीमावर्ती नाका, सवारीसाधन र शंकास्पद व्यक्तिहरूमाथि कडाइका साथ निगरानी तथा चेकजाँच गरिरहेको जानकारी कार्कीले दिए । चेकजाँचको कडाइका कारण लागुऔषध शरीरका विभिन्न अंग तथा मलद्वारमा लुकाएर ल्याउने प्रयासहरू असफल भएका छन् । कतिपय अवस्थामा प्रहरीले लागुऔषधको गिरोहलाई नियन्त्रणमा लिन गोली प्रहारसमेत गर्ने गरेको छ ।

आर्थिक वर्ष २०८१–०८२ मा प्रदेशका विभिन्न जिल्लाबाट प्रहरीले ठूलो मात्रामा लागुऔषध बरामद गरेको छ । झापा प्रहरीले ब्राउन सुगर २ किलो ८ सय ८२ ग्राम, मनोदिपक चक्की र क्याप्सुल ६३ हजार ५ सय ६० ट्याब्लेट, मोरङ प्रहरीले १ किलो ७ सय ७० ग्राम ब्राउन सुगर, चक्की र क्याप्सुल ८० हजार ९ सय २३ ट्याब्लेट, सुनसरी प्रहरीले ब्राउन सुगर ७ सय २८ ग्राम तथा चक्की र क्याप्सुल ४ लाख २८ हजार ६ सय ८३ ट्याब्लेट र अन्य मनोदिपक औषधिहरू बरामद गरेको छ ।

कोशीमा १४ वटा जिल्ला छन् । प्रदेशभरिबाट चरेश ३ दशमलव ५८ ग्राम, अफिम १५ दशमलव ७७ ग्राम, ब्राउन सुगर ५ किलो ४ सय ८९ ग्राम, चक्की र क्याप्सुल ६ लाख १५ हजार ७९ ट्याब्लेट, २ हजार ६ सय ५४ एम्पुल र अन्य औषधि १ सय ९ थान बरामद गरिएको प्रदेश प्रहरी कार्यालयका सूचना अधिकारी ध्रुवकुमार श्रेष्ठले बताए । उनका अनुसार ओसारपसार तथा बेचबिखनमा संलग्न १ हजार ८ सय ८८ जना पुरुष र ९७ जना महिलालाई पक्राउ गरी कानुनी कारबाहीको दायरामा ल्याइएको छ ।

प्रदेश प्रहरीले अभियानमा आमनागरिक, सञ्चारकर्मी, शिक्षण संस्था, अभिभावक र युवाहरूको साथ एवं सहयोग प्राप्त भएको जनाएको छ । प्रहरीले लागुऔषध सम्बन्धी कुनै सूचना भएमा तत्काल उपलब्ध गराउन आग्रह गरेको छ ।

लागुऔषधविरुद्धको अभियानलाई अझ सशक्त र परिणाममुखी बनाउन प्रहरी सक्रियता बढाइएको डीआईजी कार्की बताउँछन् । उनका अनुसार अज्ञानताका कारण, उत्सुकता जागेर, साथीभाइको लहैलहै, पारिवारिक तनावलगायतको बहाना बनाउँदै लागुऔषध सेवनको कुलतमा फसेका युवालाई त्यसबाट उन्मुक्ति दिलाउने भूमिका प्रहरीले खेलिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.