
विराटनगर । मोरङमा पछिल्लो आर्थिक वर्षमा आपराधिक गतिविधिहरू व्यापक रूपमा बढेका छन् । आर्थिक वर्ष २०८१–०८२ मा मोरङमा २ हजार ६ सय ६ वटा आपराधिक मुद्दा प्रहरीमा दर्ता भएका छन् ।
जुन संख्या अघिल्लो वर्षभन्दा २ सय २ ले बढी रहेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । प्रहरीको तुलनात्मक तथ्यांकले गम्भीर अपराधदेखि आर्थिक, यौनजन्य र लागुऔषधसँग जोडिएका मुद्दा उल्लेख्य रहेको पुष्टि गर्छ ।
डीएसपी चुँडालका अनुसार २०८१–०८२ मा दर्ता भएका मुद्दामध्ये १ हजार ९ सय २० वटा फछ्र्यौट भएका छन् भने ६ सय ८६ मुद्दा अझै अनुसन्धानको प्रक्रियामा छन् । गत आर्थिक वर्षमा कर्तव्य ज्यानसम्बन्धी १३ वटा र ज्यान मार्ने उद्योगसम्बन्धी ३५ वटा मुद्दा दर्ता भएका छन् ।
यस्ता मुद्दाहरू प्रायः घरेलु हिंसा, व्यक्तिगत रिसईबी वा आर्थिक लेनदेनको कारण हुने गरेको प्रहरीले जनाएको छ । अघिल्लो वर्ष कर्तव्य ज्यानका २० र ज्यान मार्ने उद्योगका ३५ मुद्दा दर्ता भएका थिए । यसले कर्तव्य ज्यानका घटनामा केही कमी आएको देखिए पनि ज्यान मार्ने उद्योग स्थिर देखिन्छ ।
२०८१–०८२ मा जबरजस्ती करणी (जजक) सम्बन्धी ९६ र जबरजस्ती करणी उद्योगसम्बन्धी १३ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष यस्तै मुद्दा क्रमशः ९९ र २२ थिए । यो तथ्यांकले यौनजन्य हिंसामा खासै सुधार देखिएको छैन भन्ने संकेत दिन्छ । पीडितहरूले प्रहरीसमक्ष उजुरी गर्न थालेको सकारात्मक पक्ष भए पनि यस्ता अपराध घट्न नसक्नु चिन्ताको विषय भएको सरोकारवाला बताउँछन् ।
२०८१–०८२ मा चोरीसम्बन्धी मुद्दा १ सय ८९ दर्ता भएका छन् । जुन अघिल्लो वर्ष २ सय ३८ वटा थियो । डाँका सम्बन्धी मात्र १ मुद्दा दर्ता भएको छ भने अघिल्लो वर्ष ४ वटा मुद्दा दर्ता भएका थिए । ठगीका ६३ मुद्दा दर्ता भएका छन् भने अघिल्लो वर्ष ४९ मुद्दा थिए । ठगीका घटनामा वृद्धि हुनुमा साइबर अपराध, किर्ते, सस्तो रोजगारी प्रलोभनजस्ता कारण रहेको प्रहरीको भनाइ छ ।
बैंकिङ कसुरसम्बन्धी मुद्दा २०८१–०८२ मा ४ सय ४९ पुगेको छ । अघिल्लो वर्ष २ सय ६० वटा मात्रै दर्ता भएका थिए । यसले चेक बाउन्स, ऋण नतिर्ने, किर्ते खाताबाट रकम स्थानान्तरणजस्ता अपराधहरू बढ्दै गएको देखाउँछ । बैंकिङ क्षेत्रमा भरोसा कायम राख्नका लागि प्रहरीको निगरानी र अनुसन्धानलाई सशक्त बनाइएको डीएसपी चुँडालको भनाइ छ ।
प्रहरीका अनुसार मोरङमा २०८१–०८२ मा लागुऔषध सम्बन्धी ४ सय १८ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो वर्ष ३ सय ५४ वटा दर्ता भएका थिए । २०८१–०८२ मा लागुऔषधसहित ६ सय ११ जना पक्राउ परेका छन् । जसमा ५ सय ९४ पुरुष र १६ महिला छन् ।
प्रहरीले यस अवधिमा १ किलो ७ सय ग्राम ६ सय ८० मिलिग्राम ब्राउन सुगर (खैरो हेरोइन), ६ हजार ६ सय ५० किलो गाँजा तथा मनोदीपक पदार्थ २ हजार ९ सय ४ थान एम्पुल, ७० हजार ७ सय ४१ ट्याब्लेट र ४२ बोतल लागुऔषध बरामद गरेको छ ।
पक्राउ परेकामध्ये ब्राउन सुगरसहित २ सय ७०, गाँजासहित १ सय २३ र मनोदीपक औषधिसहित २ सय १८ जना छन् । अघिल्लो वर्ष ४ सय ७५ जना लागुऔषधसहित पक्राउ परेका थिए । पक्राउ परेकाको साथबाट ७ सय ११ ग्राम ब्राउन सुगर, ४ हजार २ सय ४० किलो गाँजा, मनोदीपक ३ हजार २ सय ७ एम्पुल, ४ हजार ९ सय ६४ ट्याब्लेट र १ सय ६ बोतल लागुऔषध बरामद गरिएको थियो ।
जिल्ला प्रहरी कार्यालय मोरङको अपराध अनुसन्धान शाखा प्रहरी निरीक्षक हेमराज ओलीको नेतृत्वमा सञ्चालन भइरहेको छ । अपराध अनुसन्धान शाखाले प्रत्येक गम्भीर प्रकृतिका मुद्दामा सुरुवाती सूचना संकलनदेखि लिएर प्रमाण संकलन, फरेन्सिक परीक्षण र अभियुक्त पक्राउमा उल्लेख्य सफलता हासिल गरिरहेको छ । प्रहरीका विभिन्न युनिटले पनि अपराध अनुसन्धान गरिरहेका छन् ।
मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाका अनुसार अपराधको सफल अनुसन्धान र मुद्दा फछ्र्यौट गर्दै प्रहरी सकारात्मक नतिजा निकाल्न सफल भइरहेको छ । ‘हामीले अनुसन्धानको शैलीमा सुधार ल्याएर, प्रविधिको भरपूर प्रयोग गरेर र समुदायसँग सहकार्य गरेर अपराध नियन्त्रणमा सक्रियता बढाएका छौं । केहही अपराधमा वृद्धि देखिए पनि धेरै मुद्दामा अनुसन्धान सफल भएका छन्,’ उनले भने ।
एसपी चिमरियाले अपराध नियन्त्रणका लागि विद्यालयस्तरमै सचेतना कार्यक्रम सञ्चालन, महिला तथा बालबालिकालाई लक्षित हिंसाविरुद्ध प्रहरी पहुँच विस्तार गर्नुका साथै लागुऔषध नियन्त्रणका लागि विशेष गस्ती तथा सूचना संकलनको प्रणाली थप सशक्त बनाइएको बताए । मोरङमा अपराधको स्वरूप फरक–फरक ढंगले बढिरहेको भए पनि त्यसलाई व्यवस्थापन गर्न प्रहरी नयाँ तरिका र प्रविधिसहित अघि बढिरहेको बताइएको छ ।
अपाराध नियन्त्रण, अनुसन्धान र समाजमा शान्ति सुरक्षाको अवस्था मजबुत बनाउन स्थानीय सरकार, नागरिक समाज, सरोकारवाला र प्रहरीलगायतका सबै निकायबीचको सहकार्य आवश्यक रहेको एसपी चिमरियाको भनाइ छ । ‘अपाराध नियन्त्रण, अनुसन्धान र शान्ति सुरक्षा प्रहरी एक्लैबाट मात्रै सम्भव छैन । सबै पक्षबीच समन्वय र सहकार्य आवश्यक छ,’ उनले भने ।

























