
पर्सा । नेकपा (माओवादी केन्द्र)का नेता शिवकुमार साह तेली बैंकिङ कसुरको अभियोगमा पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनलाई वीरगन्ज महानगरपालिका–१६ श्रीपुरबाट पक्राउ गरिएको हो । पर्साको सखुवा प्रसौनी गाउँपालिका–६ लखनपुर घर भएका तेलीले आफ्नो बैंक खातामा पर्याप्त रकम नहुँदा–नहुँदै झुक्याएर २ वटा चेक दिएको आरोप छ ।
पर्सा प्रहरी प्रवक्ता डीएसपी किशोर लम्सालका अनुसार क्रान्ति गुप्ता र अर्का १ व्यक्तिले दिएको जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । चेकमध्ये एउटा १० र अर्को ६ लाखको रहेको पाइएको छ ।
दुवै चेक बैंकबाट बाउन्स भएपछि पीडितहरूले उनीविरुद्ध जाहेरी दिएका थिए । तेलीलाई अदालतको अनुमति अनुसार हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
पक्राउ परेका तेली २०७९ सालको प्रदेशसभा निर्वाचनमा नेपाल सुशासन पार्टीको तर्फबाट पर्सा क्षेत्र नम्बर ३ (क) बाट उम्मेदवार बनेका थिए । चुनावमा पराजित भएपछि उनी माओवादी केन्द्रमा प्रवेश गरे । त्यसअघि उनी जनता समाजवादी पार्टी (जसपा) नेपालमा आबद्ध थिए ।
तेली यसअघि मधेश प्रदेश सरकारमार्फत किसानका लागि ल्याइएको कृषि उपकरण खरिदमा अनियमितता गरेको आरोपमा पनि विवादमा तानिएका थिए । उनले नेतृत्व गरेको ‘जय महावीर कृषि सहकारी संस्था लिमिटेड’मार्फत करोडौं मूल्यको योजना ल्याएर कागजी प्रक्रिया मात्रै पूरा गरी रकम अपचलन गरिएको आरोप लागेको थियो ।

























