
विराटनगर । सुनसरीबाट नक्कली नोटसहित २ जना पक्राउ परेका छन् । भारतबाट नक्कली नोट लिएर नेपाल छिर्दै गरेका बेला प्रहरीले फेला पारेर पक्राउ गरेको हो ।
कोशी गाउँपालिका–८ भीमनगर बोर्डर पोस्टबाट सप्तरीको हनुमान कंकालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र हनुमान कंकालिनी–१ का २५ वर्षीय राजेश चमार रजक पक्राउ परेका हुन् । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार उनीहरु लु ९२ प २३८० नम्बरको मोटरसाइकलमा सवार थिए ।
मोटरसाइकलको पछाडि बसेका राजेश चमार रजकको साथबाट चैं जाली नोट फेला परेको जानकारी खतिवडाले दिए । उनका अनुसार नेपाली १ हजार रूपैयाँ दरका ३८ थान नोट बरामद भएको छ ।
बरामद भएको ३८ हजार नेपाली नक्कली नोटसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । नक्कली नोट ओसारपसारमा प्रयोग गरिएको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ ।

























