
विराटनगर । बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर भएका १ जना व्यक्ति पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको पक्षमा हस्ताक्षर गर्न गएका बेला विराटनगरबाट पक्राउ परेका छन् ।
सुनसरीको बराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । विराटनगर महानगरपालिका–३ स्थित पार्टी कार्यालयमा रास्वपाले मंगलबार आफ्ना सभापति लामिछानेको पक्षमा हस्ताक्षर संकलन अभियान चलाएको थियो ।
हस्ताक्षर अभियान सकेर टोली कोणसभाका लागि मोटरसाइकलमा महेन्द्र चोक पुग्यो । महेन्द्र चोकमा पनि कोणसभाअघि हस्ताक्षर संकलन गरिएको थियो । लामिछानेको पक्षमा हस्ताक्षर गर्न भनेर कोइराला त्यहाँ पुगेका थिए । अदालतबाट दोषी ठहर भएका फरार प्रतिवादी लामिछानेका पक्षमा हस्ताक्षर गर्न पुगेको जानकारी पाएलगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो ।
‘लामिछानेको पक्षमा रास्वपाले चलाएको हस्ताक्षर अभियानमा सहभागी हुन पुगेका बेला कोइरालालाई पक्राउ गरिएको हो,’ मोरङ प्रहरी स्रोतले भन्यो, ‘त्यसलगत्तै सुनसरी प्रहरीको जिम्मा लगाइएको छ ।’ कोइरालालाई जिल्ला अदालत सुनसरीले गत असार ३२ गते कसुरदार ठहर गरेको थियो ।
बालबालिका सम्बन्धी कसुरअन्तर्गतको बाल यौन दुरुपयोग मुद्दामा दोषी ठहर गर्दै सुनसरी अदालतले कोइरालालाई २ वर्ष कैद, २५ हजार रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । साथै, पीडितलाई क्षतिपूर्तिबापत कोइरालाबाट २ लाख रूपैयाँ भराउने फैसला पनि भएको थियो ।
कोइरालाले सजाय भुक्तान भने गरेका थिएनन् । यद्यपि, जिल्ला अदालतले उनलाई आफूविरुद्धको फैसलामा पुनरावेदन गर्ने बाटो भने खुला राखेको छ । इलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासतमा राखिएका कोइरालालाई बुधबार अदालतमा बुझाउने तयारी रहेको जानकारी डीएसपी खतिवडाले दिए ।
अमेरिका बस्दै आएका कोइराला बाल यौन दुर्व्यवहारको आरोपमा गत वैशाखमा पक्राउ परेका थिए । मुद्दाकाे पुर्पक्षका लागि उनी धराेटीमा छुटेका थिए ।
११ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको घटनामा उनलाई अदालतले असार ३२ गते दोषी ठहर गरेको हो ।
केही समयअघि मात्रै नेपाल आएका कोइराला अमेरिकाको टेक्सासमा बस्दै आएका थिए । अमेरिकामा बसेर ड्यासफोरा राजनीतिमा समेत संलग्न थिए ।

























