
विराटनगर । मोरङको उर्लाबारीबाट शनिबार बिहान लागुऔषध मुद्दाका थुनुवा फरार भएका छन् । अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएका थुनुवा फरार भएका हुन् ।
उपचारका लागि मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टरमा भर्ना गरिएका बेला झापाको दमक नगरपालिका–३ का २७ वर्षीय नगिन लिम्बू फरार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन् । उनका अनुसार अचानक पेट दुखेर बिरामी परेपछि लिम्बूलाई शुक्रबार राति ११ः३० बजेतिर अस्पताल भर्ना गरिएको थियो ।
उपचारकै क्रममा शनिबार बिहानका राति ३ः१५ बजेतिर लिम्बू फरार भएको चुँडालले बताइन् । उनका अनुसार अस्पतालको झ्यालबाट हामफालेर फरार भएका लिम्बूको खोजी तीव्र पारिएको छ ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले व्यापक खोजी गरिरहेको भए पनि यो समाचार तयार पार्दासम्म लिम्बू फेला परेका छैनन् । उनी साउन २१ गते बुधबार पक्राउ परेका थिए ।
लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउन प्रहरीले अदालतबाट ७ दिनको म्याद थप गरेर हिरासतमा राखी अनुसन्धान गरिरहेको थियो । अनुसन्धानको प्रारम्भिक चरणमै उपचाररत अस्पतालबाट लिम्बू फरार भएका हुन् ।
घटना अनुसार मोरङको मिक्लाजुङ गाउँपालिका–९ का २५ वर्षीय हरिभक्त दर्जी र मिक्लाजुङ–८ का २० वर्षीय निश्चल पोर्तेल साउन १६ गते लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित पक्राउ परेका थिए । अनुसन्धानका क्रममा उनीहरुले उक्त ब्राउन सुगर नगिन लिम्बूबाट खरिद गरेर ल्याएको बताए ।
उनीहरुलाई लिम्बूले लागुऔषध बेचेको पत्ता लागेपछि प्रहरीले उनलाई पनि गत बुधबार पक्राउ गरेको थियो । अस्पतालबाट भागेका उनको खोजीका लागि सबैतिर प्रहरी परिचालन गरिएको र यस विषयमा थप अनुसन्धान पनि भइरहेको डीएसपी चुँडालले बताइन् ।

























