
विराटनगर । भारतको जोगवनीबाट विराटनगर प्रवेश गरेका ३ जना भारतीयलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा १ जना महिला पनि छन् ।
प्रहरीले भारत अररिया जोगवनीका ३९ वर्षीय अहमद अली, ५१ वर्षीय मोहमद सराजुल र ३५ वर्षीया रुवी खातुनलाई पक्राउ गरेको हो । उनीहरुलाई इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको संयुक्त टोलीले विराटनगर महानगरपालिका–१३ बाट बुधबार साँझ पक्राउ गरेको हो ।
शंकास्पद अवस्थामा रहेका उनीहरुलाई नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गर्दा साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको थियो । पक्राउ परेकाबाट १ सय ८ ग्राम ब्राउन सुगर बरामद भएको छ ।
पक्राउ परेकाहरुलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























