
काठमाडौं । ‘गुन्डा नाइके’को रूपमा लामो समयदेखि चर्चामा रहेका मिलन गुरुङ उर्फ ‘चक्रे मिलन’ ज्यान मार्ने उद्योग मुद्दामा धरौटीबापतको रकम बुझाए छुटेका छन् ।
भक्तपुर जिल्ला अदालतका न्यायाधीश रामप्रसाद न्यौपानेको इजलासले धरौटीबापत १ लाख १० हजार रुपैयाँ लिएर उनलाई छाड्न शुक्रबार आदेश दिएको हो । अदालतको आदेशअनुसार तोकिएको धरौटी बुझाएर उनी छुटेका छन् ।
यो मुद्दा करिब १ वर्षअघिको घटनासँग सम्बन्धित छ । २०८१ भदौ १० गते भक्तपुरको सानोठिमीस्थित दिव्यश्जरीमा रहेको बड्डाको तावा रेस्टुरेन्टमा भएको आक्रमणमा चक्रे संलग्न भएको आरोप थियो ।
दिनेशकुमार रायमाझीले आफ्नो भतिज मनिष रायमाझीमाथि आक्रमण भएको भन्दै चक्रे लगायतविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । जाहेरीमा चक्रे, सर्लाहीको हरिवन नगरपालिका–४ का २५ वर्षीय अजित खवाससहितका केही व्यक्तिहरूको नामसमेत उल्लेख गरिएको थियो ।
मनिष रायमाझीको दुवै कोखमा खुकुरी प्रहार गरिएको थियो । जाहेरी दर्तापछि अजित खवास पक्राउ परे । ‘वतन नखुलेको’ भन्दै चक्रेलाई भने तत्काल प्रतिवादी बनाइएन । अहिले भने सोही घटनामा चक्रेविरुद्ध औपचारिक रूपमा मुद्दा दर्ता भएको हो ।
चक्रे मिलन यसअघि धरौटीमा रिहा भएलगत्तै पक्राउ परेका थिए । अभद्र व्यवहारको मुद्दामा काठमाडौं जिल्ला अदालतका न्यायाधीश खिमानन्द भुसालको इजलासले ३० हजार रुपैयाँ धरौटी लिएर उनलाई छाड्न बुधबार आदेश दिएको थियो । धरौटी बुझाएर छुटेलगत्तै अर्को मुद्दाका लागि पक्राउ गरेर चक्रेलाई भक्तपुर लगिएको थियो ।
गत १५ साउनमा उपत्यका अपराध अनुसन्धान कार्यालय र काठमाडौं जिल्ला प्रहरी परिसरको संयुक्त अपरेशनमा चक्रे मिलनसहित ४७ जनालाई मध्यराति पक्राउ गरिएको थियो । महाराजगञ्जस्थित होटल साम्बालामा चक्रेको जन्मदिनको पार्टी चलिरहेको समयमा प्रहरीले ‘मध्यराति होहल्ला’ गरेको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । तीमध्ये २८ जनालाई भने सोही रात छाडिएको थियो ।
चक्रे मिलनको नाम लामो समयदेखि काठमाडौं उपत्यकामा हुने विभिन्न आपराधिक गतिविधिहरूसँग जोडिँदै आएको छ । पटक–पटक पक्राउ परे पनि प्रायः उनी धरौटीमा छुट्दै आएका छन् ।

























