
काठमाडौं । ताप्लेजुङ समाज नेपालले आयोजना गरेको मौलिक पर्व ‘लाखे जात्रा मेला २०८२’ भव्य रूपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा ताप्लेजुङको मौलिक लाखे नाचसहित, लिम्बु र ब्राह्मण लगायतका समुदायको सांस्कृतिक नाच प्रस्तुत गरिएको थियो ।

काठमाडौंमा रहेर ताप्लेजुङको विकास, जिल्लाको संस्कार संस्कृतिको प्रचार र संरक्षणमा चासोका साथ काम गर्दै आएको ताप्लेजुङ समाज नेपालले प्रत्येक वर्ष विभिन्न समुदायको मौलिक सांस्कृतिक पर्वहरू विशेष रूपमा मनाउँदै आएको छ । यस वर्ष भने मौलिक पर्व ‘लाखे जात्रा मेला २०८२’ आयोजना गरेको समाजका महासचिव देउमान विष्टले बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख देवराज घिमिरेले ताप्लेजुङ जातजाति, भासाभासी र संस्कृतिले सुसज्जित जिल्ला भएको बताउँदै संस्कृतिको संरक्षण गर्न सके जिल्ला समृद्ध बन्ने बताए । ‘ताप्लेजुङ म जन्मेको जिल्ला हो । संस्कार र संस्कृतिले भरिएको जिल्ला पनि हो ताप्लेजुङ । समाजले यसरी संस्कृति संरक्षण गर्न कार्यक्रम गरेर मलाई पनि बोलाएकोमा गर्व महसुस भएको छ,’ उनले भने ।

संस्थाको स्थापना कालदेखि नै ताप्लेजुङमा बसोबास गर्ने विभिन्न जाति समुदायहरूको धर्म, संस्कार र संस्कृतिमा आधारित मौलिक चार्ड पर्वहरूलाई पालैपालो उत्सवको रूपमा मनाउँदै आएको समाजले यस वर्ष भने नेवार समुदायले मनाउने लाखे जात्रा मेला आयोजना गरेको संस्थाका वरिष्ठ उपाध्यक्ष तथा प्रचार प्रसार उपसमिति संयोजक रमेश बरालले बताए ।
कार्यक्रम काठमाडौको धुम्बाराही स्थित एस आर ब्यंक्वैटको खुल्ला प्राङ्गणमा विहान ११ बजेबाट सुरु भएको थियो ।

मेलामा सगुनको रूपमा नेवारी खानपिन परिकारहरू क्वाँटी, छोइला र आइलासहित विभिन्न परिकारका स्टलहरू राखिएका थिए । उक्त स्टलहरूमा टिपिकल ताप्लेजुङमै उत्पादित खाद्य परिकारहरू पनि राखिएका थिए ।
ताप्लेजुङको परम्परागत लाखे नाच र बेठी बाजासहितको रोपाई जात्रासमेत देखाइएको कार्यक्रममा हजारौं ताप्लेजुङवासीको सहभागिता रहेको थियो ।
अन्य जिल्ला र क्षेत्रको भन्दा ताप्लेजुङको लाखे नाच विशेष र रोचक भएकाले यसलाई काठमाडौंमा पनि देखाइएको संस्थाका सल्लाहकारसमेत रहेका समाजसेवी ध्रुवनारायण श्रेष्ठले बताए ।
यस वर्ष लाखे नाचसहित सांस्कृतिक झाँकीहरू, च्याब्रुङ नाच, याबा बिजुवा नाच, स्याबु नाच, संगिनी नृत्यसहित राष्ट्रिय कलाकारहरूको समेत प्रस्तुति रहेकाले कार्यक्रम विशेष भएको समाजका अध्यक्ष डम्बरबहादुर तुम्बाहाम्फेले बताए ।

हरेक वर्ष ताप्लेजुङ समाज नेपालले आयोजना गर्ने यस्ता मौलिक सांस्कृतिक पर्वहरूको माध्यमबाट जिल्लावासीहरू बिचको एकतालाई थप मजबुत र प्रगाढ बनाउने, सामाजिक सद्भावलाई कायम राख्न थप मद्दत पुग्नुको साथै भावी पुस्तालाई समेत संस्कार संस्कृतिको ज्ञान मिल्ने आयोजकको अपेक्षा छ ।























