फाइल फोटो ।धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० स्थित ओशो पार्क नजिकैको जंगलबाट आइतबार बिहान ठूलो परिमाणमा गाँजा बरामद भएको छ ।
विशेष सूचनाको आधारमा अस्थायी प्रहरी चौकी अमरहाटबाट खटिएको प्रहरी टोलीले कालो प्लास्टिकको पोका बनाएर जंगलभित्र लुकाएर राखिएको अवस्थामा ७२ किलोग्राम गाँजा फेला पारेको हो । सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाका अनुसार गाँजा फेला परेको ठाउँबाट ५ जना युवकलाई समेत नियन्त्रणमा लिइएको छ ।
धरान–२० का३० वर्षीय रुपेश राई, २८ वर्षीय मिलन राई, २५ वर्षीय रञ्जित राई, धनकुटाको सहिदभूमि गाउँपालिका–३ घर भइ हाल इटहरी–१० बस्ने ३४ वर्षीय प्रदीप राई र धरान–१३ का ३१ वर्षीय सन्तोष राईलाई पक्राउ गरिएको डीएसपी खतिवडाले बताए । प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएर बरामद गरिएको गाँजासहित थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय धरानमा लगेको छ ।
प्रहरीका अनुसार बरामद गरिएको गाँजा पैसाको लेनदेनका लागि जंगलमै राखिएको हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका ५ जनाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























