
विराटनगर । विराटनगरको ऐतिहासिक राधाकृष्ण रथयात्राको अवसरमा ठाउँ–ठाउँमा निःशुल्क सर्बत र पानी वितरण गर्ने काम भइरहेको छ ।

चर्को घामसँगैको गर्मीले तिर्खाएका भक्तजनलाई लक्षित गरेर विराटनगरको चोक–चोकमा सर्बत र पानी वितरणको व्यवस्था मिलाइएको हो । रथयात्रामा सहभागी हुन र रथको अवलोकन गर्न जाने भक्तजनले सर्बत र पानीको निःशुल्क पिउन पाउने छन् ।

विभिन्न संघ संस्था तथा व्यक्तिहरुले सर्बत र पानी वितरण गरिरहेका हुन् । श्रद्धालुलाई स्वयंसेवकहरूले सर्बत र पानी वितरण गरिरहेका छन् । कतिपय ठाउँमा युवाहरुले आफैं खर्चको जोहो गरेर त्यो व्यवस्था मिलाएका छन् ।
सर्बत र पानी वितरणमा खटिएका राजु झाँगडले साथीहरुसँग मिलेर निःशुल्क सर्बत र पानी वितरण गरिएको बताए । ‘संस्थागत नभए पनि व्यक्तिगत रूपमा पैसा उठाएर रथयात्रामा सर्बत वितरण गर्न पाउँदा खुसी लागेको छ,’ उनले भने ।

त्यस्तै, विराटनगर महानगरपालिका–१५ को रानी आँखा अस्पतालले पनि निःशुल्क सर्बत र पानी वितरणको व्यवस्था मिलाएको छ । विराटनगरको महेन्द्र चोकमा उक्त व्यवस्था मिलाइएको अस्पतालकी प्रशासन प्रमुख प्रतीक्षा बास्तोलाले बताइन् ।

विराटनगरको तीनपैनी, मेन रोड, ट्राफिक चोक, रोडशेष चोक, बसपार्क, महेन्द्र चोक, महावीर चोक, शनिमन्दिर चोक, भृकुटी चोक, बिजुली अफिस, मुनालपथ, बरगाछी, दुर्गा चोकलगायत विराटनगरका चोक–चोकमा निःशुल्क सर्बत र पानी वितरण भइरहेको छ । यसले गर्मीका समयमा रथ तान्नेहरुलाई राहत पुग्ने छ ।


































