
विराटनगर । ऐतिहासिक राधाकृष्ण रथयात्राका क्रममा विराटनगरबाट आइतबार प्रहरीले ५७ जनालाई नियन्त्रणमा लिएको छ ।
भिडभाडको मौका छोपेर शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिएर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार चोरी तथा पकेटमारीमा संलग्नको आशंकामा पनि केही व्यक्तिलाई नियन्त्रणमा लिइएको छ ।
प्रहरीले नियन्त्रणमा लिएकामध्ये ५३ जना पुरुष र ४ जना महिला छन् । तर, प्रहरीले महिलालाई भने आइतबार राति नै छाडिसकेको छ । पुरुषहरु हालसम्म प्रहरी नियन्त्रणमै छन् ।
नियन्त्रणमा लिइएकामध्ये कतिपयको साथबाट मोबाइल बरामद भएको जानकारी एसपी चिमरियाले दिए । ‘नियन्त्रणमा लिइएकामाथि ‘स्क्रिनिङ’ गर्ने काम भइरहेको छ । विगतमा उनीहरु कुनै अपराधिक गतिविधिमा संलग्न थिए कि थिएनन् भनेर पनि पत्ता लगाइन्छ । सबै कुरा बुझिसकेपछि उनीहरुलाई छाड्ने कि थप कारबाही अघि बढाउने भन्ने निर्णयमा पुगिन्छ,’ उनले भने ।
रथयात्राका क्रममा सुनका ५ वटा सिक्री र ९ वटा मोबाइल चोरी भएको जानकारी प्रहरीले प्राप्त गरेको छ । चोरी भएका उजुरी प्रहरीमा पर्ने क्रम जारी छ । एसपी चिमरियाले हजारौं भक्तजन सहभागी रथयात्रा भव्य र शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए ।
‘उच्छृङ्खल, शंकास्पद र अवाञ्छित गतिविधि गर्नेहरुलाई नियन्त्रणमा लिइएको छ । अरु त्यस्तो कुनै समस्या भएन । रथयात्रा शान्तिपूर्ण रूपमा सम्पन्न भयो । रथयात्रालाई लक्षित गरेर शान्ति सुरक्षाको अवस्था मजबुत बनाइएको थियो,’ उनले भने ।

























