
विराटनगर । मोरङको उर्लाबारीबाट ठूलो मात्रामा लागुऔषधसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । कारमा राखेर लागुऔषध ल्याउनेहरु पक्राउ परेका हुन् ।
मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालका अनुसार झापाको दमक नगरपालिका–४ का ४३ वर्षीय केदार ओझा, मोरङको उर्लाबारी नगरपालिका–४ की २२ वर्षीया एन्जिला दाहाल र उर्लाबारी–७ का ३२ वर्षीय सुजन सेन्दाङलाई पक्राउ गरिएको छ । गोप्य सूचनाका आधारमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको इन्स्पेक्टर रन्जन बराल नेतृत्वको टोलीले उनीहरुलाई आइतबार राति ११ बजेतिर उर्लाबारी–९ आमबारीबाट पक्राउ गरेको हो ।
प्रहरीले दुर्गापुरी–उर्लाबारी सडक खण्डमा आमबारीबाट उर्लाबारीतर्फ आउँदै गरेको बा ३ च ७९८१ नम्बरको कारलाई नियन्त्रणमा लिएको थियो । नियन्त्रणमा लिएर खानतलासी गर्दा कारबाट लागुऔषध बरामद भएको डीएसपी चुँडालले बताइन् ।
उनका अनुसार कारको सीटबाट ग्यालिनमा भरेर राखिएको लागुऔषध कोरेक्सजस्तो देखिने वस्तु ५ लिटर र नाइट्राभेट १० पत्ता (१ सय ५० ट्याब्लेट) बरामद भएको छ । ‘कारको सीटभित्र लुकाएर ल्याउँदै गरेको लागुऔषधजस्तो देखिने वस्तु ठूलो मात्रामा बरामद भएको छ,’ उनले भनिन् ।
कार र लागुऔषध नियन्त्रणमा लिएको प्रहरीले कारमा सवार २ जनालाई पक्राउ गरेको हो । पक्राउ परेकामध्ये ओझा कार चालक हुन् । सोही क्रममा कारसँगै आएको बा ७८ प ४०९८ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका सेन्दाङ मोटरसाइकल चालक हुन् ।
प्रहरी स्रोतका अनुसार पक्राउ परेकाहरु लागुऔषध कारोबारी भएको आशंका छ । इलाका प्रहरी कार्यालय उर्लाबारीको हिरासतमा राखिएका उनीहरुमाथि इन्स्पेक्टर बराल नेतृत्वकै टोलीले अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























