
रौतहट । रौतहटमा सुटकेसभित्र मृत फेला परेकी महिलाको सनाखत भएको छ ।
मृतक भारतको मुजफ्फरपुर घर भएकी ३५ वर्षीया रुवीकुमारी साह रहेको पुष्टि प्रहरीले गरेको छ । रुवीको माइत रौतहटको माधव नारायण नगरपालिका–२ महादेवपट्टीमा रहेको र उनी पछिल्लो १ महिनादेखि त्यहीँ डेरा गरी बस्दै आएको रौतहट प्रहरी प्रवक्ता डीएसपी राजु कार्कीले बताए ।
उनका अनुसार मृतकका आफन्तले शवको पहिचान गरेका हुन् । १ छोराकी आमा समेत रहेकी रुवीको हत्या गरेर सुटकेसभित्र राखिएको अवस्थामा आइतबार बिहान शव फेला परेको हो ।
सुटकेस खोल्दा मृतकको घाँटी सल र डोरीले बेरिएको अवस्थामा भेटिएको डीएसपी कार्कीले बताए । घटनाको थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

























