
विराटनगर । विराटनगरमा सरकारी गाडी आगजनी तथा तोडफोड गरेको आरोप लागेका सबै विद्यार्थी नेतालाई मोरङ जिल्ला अदालतले सफाइ दिएको पाइएको छ ।
न्यायाधीश मेघनाथ चापागाईंको इजलासले प्रमाणको अभाव देखाउँदै आपराधिक उपद्रव मुद्दाका सबै प्रतिवादीलाई सफाइ दिने फैसला सुनाएको हो । नेपाल विद्यार्थी संघ (नेविसंघ) र अखिल क्रान्तिकारीका कार्यकर्ताले २०८१ साल जेठ २७ गते बिहान रोडशेष चोकबाट कोशी प्रदेश योजना आयोगको कार्यालयतर्फ जाँदै गरेको को १ झ ६४४ नम्बरको गाडी महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस अगाडि जलाएका थिए ।
कञ्चनजंघा पार्टी प्यालेसमा नेपाल विद्युत प्राधिकरणको सभा भइरहेका बेला बाहिर पार्किङ गरी राखिएको बा १ ञ १८८७, बि एबी ८१८०, बा १ ञ २४१९, बागमती प्रदेश ०१–००१ ञ २७०१ र बागमती प्रदेश ०१–००१ ञ २७९० नम्बरको गाडी तोडफोड गरिएको थियो ।
उक्त घटनामा संलग्न रहेको आरोपमा प्रहरीले विद्यार्थी नेताहरू सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, जयनारायण पाण्डे, देवकुमार साह, अभिमन्यू यादव र प्रोज्वल अधिकारीलाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो । अभिमन्यू यादव र जयनारायण पाण्ड अखिल क्रान्तिकारीका नेता हुन् ।
अन्य प्रतिवादी नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ क्याम्पस इकाइका नेता हुन् । ठकुरी महेन्द्र मोरङको पूर्वस्ववियु सचिव हुन् ।
नेपाल सरकार वादी रहेको उक्त मुद्दामा प्रतिवादीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को दफा २८५ विपरीत आपराधिक उपद्रव गरेको अभियोग लगाइएको थियो । अभियोग पत्रमा तोडफोड र आगजनीबाट भएको २७ लाख ७० हजार ५ सय ९६ रुपैयाँ २१ पैसा क्षतिपूर्ति पनि प्रतिवादीहरूबाटै भराउन माग गरिएको थियो ।
अदालतमा बयान दिने क्रममा प्रतिवादीहरूले आफूहरू घटनामा संलग्न नरहेको र राजनीतिक कारणले फसाउन खोजिएको दाबी गरेका थिए । अधिकांशले घटनाको समयमा आफूहरू अर्कै स्थानमा रहेको जिकिर गरेका थिए ।
प्रहरीले घटनास्थल वरपरको सीसी टिभी फुटेज, विभिन्न सञ्चारमाध्यममा प्रसारित भिडियो तथा प्रत्यक्षदर्शीहरूको बयानको आधारमा अनुसन्धान अगाडि बढाएको थियो । तर, अदालतमा पेस गरिएको सीसी टिभी फुटेजको सीडी स्क्रयाच भएका कारण खुल्न सकेन । अदालतमा कागज गर्ने व्यक्तिहरूले पनि प्रतिवादीहरूले नै कसुर गरेको भनी किटानी बयान दिन सकेनन् ।
‘वारदातस्थल वरपर प्राप्त सीसी टिभी फुटेजको भिडियोको इमेज उतार गरी यी प्रतिवादीहरु उक्त कसुरमा संलग्न रहेको भनी अनुसन्धानको क्रममा वारदात देख्ने व्यक्तिहरुबाट सनाखत गराई मिसिल संलग्न राखेको भन्ने देखिदैन्,’ फैसलामा भनिएको छ ,‘यस अदालतको आदेशानुसार अभियोग साथ पेस भएको सीसी टिभीको फुटेज रहेको सिडी÷डिभिडी फाँटका कर्मचारी, सूचना प्रविधि सहायक तथा वादीप्रतिवादीका कानुन व्यवसायीको रोहवरमा हेरी इमेज प्रिन्ट गर्न लाग्दा उक्त सिडी÷डिभिडी स्क्र्याच भएको कारण नखुलेकोले फुटेजको इमेज फोटो प्रिन्ट गर्न नसकिएको समेत भन्ने व्यहोराको कागज मिसिल सामेल रहेको पाइन्छ ।’
अदालतले उक्त मुद्दाको फैसाल असार २२ गते गरेको हो । फैसलाको पूर्णपाठ हालसालै तयार भएको छ । अदालतले सनिम ठकुरी, प्रशान्त यादव, प्रज्वल विष्ट, रोशन कुमार पासमान, मोहमद सलमान, भानु चेल, देव कुमार साह र प्रोज्वल अधिकारीलाई अभियोग दाबीबाट सफाइ दिएको हो । मुद्दाका अन्य प्रतिवादीहरू जयनारायण पाण्डे र अभिमन्यू यादव अदालतमा हाजिर नभएकाले उनीहरूको हकमा मुद्दा मुल्तबीमा राखिएको छ ।
रंगेलीमा दीपक यादवसहित ४ जना विद्यार्थी पक्राउ परेको विरोधमा आन्दोलित विद्यार्थीहरूले सरकारी सवारीसाधनमा आगजनी र तोडफोड गरेका थिए । घटनामा नेपाल विद्युत प्राधिकरण र कोशी प्रदेश योजना आयोगको गाडीहरूमा क्षति पुगेको थियो ।
यस्तो छ फैसलाको पूर्णपाठ

























