
विराटनगर । बिजुलीको ट्रान्सफर्मर चोरी गर्ने गतिलो गिरोह पक्रन सफल ४ जना प्रहरी कोशी प्रदेशको सर्वोत्कृष्ट घोषित भएका छन् । सर्वोत्कृष्ट घोषित हुनेमा डीएसपीदेखि जवानसम्म छन् ।
कोशी प्रदेशमा लामो समयदेखि ट्रान्सफर्मर चोरीका घटना बढिरहेको थियो । प्रहरी सक्रियताले ठूलो गिरोह पत्ता लाग्यो । गिरोह पत्ता लगाउने प्रहरी अधिकृतदेखि जवानसम्मलाई साउन महिनाको सर्वोत्कृष्ट घोषित गरिएको कोशी प्रदेशका प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेलले बताए ।
उनका अनुसार साउन महिनाको सर्वोत्कृष्ट प्रहरीका रूपमा प्रदेश प्रहरी कार्यालय विराटनगरमा कार्यरत डीएसपी (प्रहरी नायव उपरीक्षक) दुर्गाप्रसाद दाहाल, जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरीक्षक) सरोज खनाल, मोरङकै इलाका प्रहरी कार्यालय दोहमनामा कार्यरत वरिष्ठ हवल्दार विष्णु पराजुली र प्रहरी जवान समिप सुब्बालाई सर्वोत्कृष्ट घोषित गरिएको हो । उनीहरुलाई कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले ‘वेस्ट पुलिस अफ दी मन्थ’को उपाधि प्रदान गरेका हुन् ।
उनीहरूले सुनसरी, मोरङ र झापामा देखिएको ट्रान्सफर्मर चोरी प्रकरणको अनुसन्धान र अभियुक्त नियन्त्रणमा ल्याउने प्रक्रियामा महत्वपूर्ण भूमिका निर्वाह गरेको ठहर प्रदेश प्रहरी कार्यालयको छ । नेपाल विद्युत प्राधिकरण प्रादेशिक कार्यालय रानी विराटनगरसँगको समन्वय र सहकार्यमा प्रहरीले ट्रान्सफर्मर चोरीको अनुसन्धान अघि बढाएको थियो ।
अनुसन्धानका क्रममा सुनसरीका १२, मोरङका १० र झापाका २ गरेर २४ स्थानमा ट्रान्सफर्मर चोरी भएको पत्ता लाग्यो । प्रहरीले २०८२ साउन ९ गते चोरीमा संलग्न १२ जनालाई पक्राउ गरेर अनुसन्धान एवं कारबाहीको दायरामा ल्याएको थियो ।
पक्राउ परेकाबाट प्रहरीले चोरीमा प्रयोग गरिएको को १ च ७७२९ नम्बरको पिकअप गाडी, विभिन्न कम्पनीका ५ वटा मोटरसाइकल, १२ वटा मोबाइल र ट्रान्सफर्मर फुटाउन प्रयोग गरिएका औजारहरू नियन्त्रणमा लिएको थियो । साथै, प्रहरीले चोरी गरेर निकालिएको ३ सय ६८ किलो ५ सय ग्राम तामाको तारसमेत बरामद गरिएको थियो ।
यसरी संगठित गिरोह पक्राउ गर्न भूमिका खेल्ने प्रहरीको कामलाई प्रदेश प्रहरी कार्यालयले उच्च मूल्यांकन गरेको हो । पुरस्कृत भएका प्रहरी कर्मचारीले देखाएको साहस, प्रतिबद्धता र निष्ठाले आमनागरिकलाई शान्ति सुरक्षाको अनुभूति गराएको एसएसपी पोखरेलले बताए ।

























