
विराटनगर । मोरङको बेलबारी घर भएका १ जनालाई सुनसरीबाट प्रहरीले पक्राउ गरेको छ । लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन)सहित ती व्यक्ति पक्राउ परेका हुन् ।
अस्थायी प्रहरी पोष्ट बसपार्क र जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको संयुक्त टोलीले लौकहीबाट झुम्कातर्फ जाँदै गरेको बा ४६ प ८४०२ नम्बरको मोटरसाइकललाई इनरुवा नगरपालिका–४ मा रोकेर शनिबार साँझ चेकजाँच गरेको थियो । चेकजाँचका क्रममा मोटरसाइकल चालक मोरङ बेलबारी नगरपालिका–४ का ४० वर्षीय इन्द्रबहादुर गुरुङको साथबाट करिब १६ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगरजस्तो देखिने पदार्थ बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
गुरुङलाई उक्त लागुऔषध र मोटरसाइकलसहित नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय सुनसरीमा लगिएको छ । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । गुरुङविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























