
काठमाडौं । लामो समयदेखि मिटरब्याजको धन्दा चलाइरहेका १ जना वृद्धलाई मंगलबार पौने ४ करोड रूपैयाँसहित प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरी र जिल्ला प्रहरी परिसर काठमाडौंको संयुक्त टोलीले गोंगबुबाट ७७ वर्षीय विनोदकुमार श्रेष्ठलाई पक्राउ गरेको । ृउनलाई मिटरब्याज कारोबारमा संलग्न रहेको प्रमाणसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले गोंगबुस्थित श्रेष्ठको घरमा छापा मार्दा ३ करोड ७५ लाख रूपैयाँ नगद बरामद भएको छ । ठूलो मात्रामा सुन र गरगहना पनि भेटिएको उपत्यका प्रहरी कार्यालयका एसएसपी शेखर खनालले जानकारी दिए । सुन र गहना गरेर करिब ३ किलो रहेको प्रहरीले जनाएको छ ।
खनालका अनुसार प्रारम्भिक अनुसन्धानमै श्रेष्ठले सुनका गरगहना धितो राखेर अत्यधिक ब्याजदरमा पैसा दिने गरेको देखिएको छ । मिटरब्याजी श्रेष्ठले अवैध लेनदेन गर्दै धन्दा चलाउने गरेको प्रहरीको भनाइ छ ।
अवैध रकम घरमै लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो । सो क्रममा श्रेष्ठ पक्राउ परेका हुन् । उनको काठमाडौं बाहिर गोरखामा पनि घर रहेको खुलेको छ । प्रहरीले नगद, सुन र गरगहना बरामद गरेर प्राप्त प्रमाणका आधारमा श्रेष्ठमाथि अनुसन्धान अघि बढाएको छ ।

























