
भोजपुर । भोजपुरको विभिन्न स्थानमा प्रहरीले लागुऔषध गाँजाको बोट र बेर्ना नष्ट गरेको छ ।
भोजपुरको हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा आफैँ उम्रेका ८ हजार गाँजाका बोट र बेर्नाहरू नष्ट गरिएको कोशी प्रदेश कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार प्रदेश कार्यालयको सुरक्षा सुनिश्चितता अभियानअन्तर्गत डाँडा पाखामा अवैध रूपमा लगाएका तथा आफै उम्रेका गाँजाका बोटहरू नष्ट गर्न थालिएको हो ।
हतुवागढी गाउँपालिका र आमचोक गाउँपालिकाको विभिन्न वडामा करिब ४३ रोपनी क्षेत्रफलमा आफैँ उम्रिएका ४ हजार २ सय वटा गाँजाको बोट र ३ हजार ८ सय गाँजाको बेर्ना फडानी गरी नष्ट गरेको एसएसपी पोखरेलले बताए ।
इलाका प्रहरी कार्यालय घोडेटार, इलाका प्रहरी कार्यालय बोयाङ, प्रहरी चौकी हसनपुर र अस्थायी प्रहरी चौकी दुम्मानाबाट खटिएको प्रहरी टोलीले डाँडा पाखामा उम्रिएका लागुऔषध गाँजाको बोट तथा बेर्नालाई निरन्तर रूपमा फडानी गर्दै आएको जनाएको छ ।

























