
नेपालको राजनीतिक र सामाजिक परिदृश्य अहिले नयाँ मोडमा प्रवेश गरेको छ । मुलुकभर फैलिएको जेनजी आन्दोलन केही युवाको क्षणिक उत्तेजना होइन भन्ने देखिन्छ ।
यो ऐतिहासिक आवश्यकता र समयको अनिवार्य माग थियो । विगतदेखि नै मुलुकमा पटक–पटक नयाँ परिवर्तनका नाममा आशा जगाइयो । तर, प्रायः हरेक पटक ती आशा निराशामा परिणत भए । आजको जेनजी आन्दोलन त्यही निराशा, असन्तुष्टि र अविश्वासको उपज हो ।
प्रतिक्रियामूलक नभएर भविष्य खोज्ने, नयाँ मूल्य निर्माण गर्ने र मुलुकलाई दिगो परिवर्तनतर्फ डोर्याउने सम्भावना बोकेको आन्दोलनका रूपमा जेनजी आन्दोलनलाई हेरिएको छ । त्यहाँमाथि काठमाडौं महानगरपालिकाका मेयर बालेन साह (बालेन्द्र)लगायतको समर्थनले जेनजीलाई झन् हौसाएको छ । जेनजीको आन्दोलनले भ्रष्टाचार र अनियमितताको अन्त्य गर्दै मुलुकलाई एउटा बाटोतर्फ डोर्याउन मद्धत गर्छ भन्ने अपेक्षा राखिएको छ ।
नेपालको राजनीतिक इतिहासमा सत्ताको स्वरूप फेरिनु नयाँ विषय होइन । २०४६ सालमा र २०६२–०६३ मा जनआन्दोलन भए । त्यसपछि गणतन्त्र स्थापना भएर मुलुकमा संघीयता आयो । तर, ती सबै आन्दोलनले उपलब्धि प्राप्त गरे पनि जनताले अपेक्षा गरेको न्याय, पारदर्शिता, रोजगारी, सुशासन र समान अवसर प्राप्त भएनन् ।
सत्तामा पुगेका दलहरूले नीतिगत सुधारभन्दा बढी व्यक्तिगत र समूहगत स्वार्थलाई प्राथमिकता दिए । राज्य संरचना विस्तार भए पनि शासनशैली अझै दलाल–पुँजीवादी प्रवृत्ति र पुरानै संरचनागत भ्रष्टाचारमा जकडिएको छ ।
अहिलेको युवा पुस्ता (जसलाई जेनजी पुस्ता भनेर चिनिन्छ) स्वतःस्फूर्त रूपमा सडकमा उत्रनु कुनै संयोग होइन । यो पुस्ताले विगतका आन्दोलनहरूलाई प्रत्यक्ष अनुभूति गरेको छैन । तर, त्यसको परिणामस्वरूप जन्मिएको प्रणालीमा हुर्किएको पुस्ता हो ।
यसले पुरानो पुस्ताले गरेका सम्झौता र त्यागभन्दा बढी प्रणालीको असफलता एवं नेताहरूको अवसरवाद देखेको छ । त्यसैले उनीहरूको विद्रोह राजनैतिक संरचनाविरुद्ध मात्र नभएर सामाजिक सोच, प्रशासनिक संस्कार र संस्थागत अकर्मण्यताविरुद्ध पनि हो ।
राजनीतिक दलहरूको परम्परागत हैकम अब स्वीकार्य छैन भन्ने सन्देश जेनजी आन्दोलनले दिएको छ । दलहरूले युवालाई प्रयोग गर्ने, चुनावमा टिकट र घोषणापत्रमा आशा देखाउने गर्छन् । तर, कार्यान्वयनमा बेवास्ता गर्ने पुरानो प्रवृत्ति अब टिक्न सक्दैन भन्ने सन्देश प्रवाह भएको छ । यस आन्दोलनले नेपाली समाजलाई एउटा आत्मसमीक्षा गर्न बाध्य पारेको छ ।
हामीले विगतमा के गुमायौं, के पाएर पनि प्रयोग गर्न सकेनौं र अब के गर्न सकिन्छ भन्ने प्रश्न हरेक नागरिकमा उठेको छ । जेनजी आन्दोलनको अर्को महत्त्वपूर्ण पक्ष यसको शैली हो । यसमा पुरानो आन्दोलनझैं पार्टी पक्षधरता नभएर डिजिटल प्रविधिको प्रभावकारी प्रयोग, सामाजिक सञ्जालमार्फत सचेतना, कला, साहित्य र सांस्कृतिक गतिविधिको संयोजन देखिएको छ ।
तर, आन्दोलन केही हिंसात्मक पनि देखिएको छ । गोली लागेर आन्दोलनकारीहरुको मृत्यु भएको छ । कैयौं घाइते भएका छन् । ठाउँ–ठाउँमा तोडफोड र ढुंगामुढा भएको छ । जेनजी आन्दोलन शान्तिपूर्ण हुने घोषणा गरिएको थियो ।
आन्दोलन सुरु भइसकेपछि उत्तेजक भिडले जथाभावी गरेको देखियो । यद्यपि, जेनजीले आन्दोलनमा घुसपैठ भएको स्वीकार गरेको छ । विभिन्न समूहका नाममा घुसपैठ भएको भन्दै जेनजी पुस्ताले प्रदर्शनकारीलाई घर फर्किन आह्वान पनि गर्नुपर्ने अवस्था आयो ।
हिंसात्मक नभएर रचनात्मक हुने दाबीविपरीत भएका केही हर्कतले आन्दोलनलाई आलोचित पनि बनाएको छ । त्यहाँमाथि प्रहरीको दमनको कुरै छाडौं । जथाभावी दमनले मृत्यु र घाइते हुनेको संख्या बढ्दै गइरहेको छ ।
तर, यो आन्दोलन असन्तुष्टिको स्वर मात्रै नभएर नयाँ सोच, नयाँ अभिव्यक्ति र भविष्यको वैकल्पिक मार्गको खोजी पनि हो भन्नलाई हिचकिचाउनुपर्ने अवस्था छैन । युवापुस्ताको यो जागरणलाई अल्पकालीन उत्साह भनेर बेवास्ता गर्नु मुलुकका शासकहरूको लागि घातक हुनेछ । किनकि यो पुस्ता संख्यात्मक बहुमत नभएर भविष्यको सम्भावना पनि हो ।
अहिले १६ देखि ३० वर्ष उमेरका युवाहरू देशको सबैभन्दा ठूलो जनसंख्याको हिस्सा हुन् । उनीहरूलाई अवसर नदिने, उनीहरूको आवाज दबाउने वा उनीहरूलाई विदेशतर्फ धकेल्ने प्रवृत्तिले मुलुकलाई खतरनाक मोडमा पुर्याउन सक्छ । बरु, उनीहरूको उर्जा, सिर्जनशीलता र साहसलाई सकारात्मक रूपले उपयोग गर्न सके नेपालको समृद्धि र विकास सम्भव छ ।
जेनजी आन्दोलनको माग नेताहरूको राजीनामा वा पदत्यागमा सीमित छैन । यसले सुशासन, पारदर्शिता, शिक्षा र रोजगारीको अवसर, मौलिक हकको प्रत्याभूति, समानतामूलक अवसर र भ्रष्टाचारको अन्त्य मागेको छ । यी मागहरू कुनै विलासी चाहना नभएर नागरिकको आधारभूत अधिकार हुन् । तर, विडम्बना लामो समयदेखिको लोकतान्त्रिक अभ्यासमा समेत यी मागहरू अपूरा छन् ।
यस्तै, अपूरापन र शासकहरुको गलत हर्कतले आज युवालाई आन्दोलनतर्फ धकेलेको हो । आन्दोलनको गन्तव्य के हो ? आन्दोलन असन्तुष्टि पोख्ने माध्यम बन्ने हो ? वा संस्थागत सुधारतर्फ उन्मुख हुने हो ? भन्ने जवाफको स्पष्ट जवाफ छैन । तर, आन्दोलन निरन्तर र व्यवस्थित रूपमा अघि बढ्यो भने नेपाललाई नयाँ खालको राजनीतिक अभ्यासतर्फ धकेल्नेछ भन्ने चैं यथार्थ हो ।
दल केन्द्रित राजनीति भन्दा बाहिर नागरिक केन्द्रित शासन व्यवस्था निर्माणको आधारशिला यही आन्दोलन बन्न सक्छ । त्यही भएर असन्तुष्टिको नाममा नकारात्मक राजनीति नगरी वैकल्पिक एजेन्डा प्रस्तुत गर्न सक्नुपर्छ ।
नेतृत्व छनोटमा पारदर्शिता, संगठनमा लोकतान्त्रिक अभ्यास, कार्ययोजनामा व्यावहारिकता र आन्दोलनमा अहिंसात्मक पद्धति अपनाउनु जरुरी छ । आन्दोलनको सुरुवात सशक्त छ । तर, दीर्घकालीन दृष्टि भएन भने इतिहासका अन्य आन्दोलनझैं यो पनि क्षणिक लहरमा सीमित हुनेछ ।
जेनजी आन्दोलनलाई बलपूर्वक दमन गरेर वा उपेक्षा गरेर समस्या समाधान हुँदैन भन्ने कुरा शासक वर्गले बुझ्नुपर्ने हुन्छ । बरु यसको आवाजलाई सुन्ने, यसले उठाएका मुद्दाहरूलाई सरकारी नीतिमा समेट्ने र युवाप्रति संवेदनशील बन्ने हो भने मात्र यो ऊर्जा सकारात्मक दिशामा प्रवाहित हुनेछ ।
दलहरूले आफ्नो संगठनात्मक अनुशासनमा मात्र अड्किएर युवालाई दुश्मनजस्तो देख्ने प्रवृत्ति त्याग्नुपर्छ । बरु उनीहरूलाई साझेदारको रूपमा स्वीकार गर्नुपर्छ । रोजगारी संकट, आर्थिक मन्दी, प्राकृतिक स्रोतको दोहन, बढ्दो पलायन, शिक्षा र स्वास्थ्यको गिरावट अहिले मुलुकका चुनौती हुन् ।
यी सबै समस्याको समाधान पुरानो सोच र पुरानो संरचनाले सम्भव छैन । नयाँ सोच, नयाँ प्रविधि र नयाँ पुस्ताको सक्रियताले मात्र मुलुकलाई संकटबाट पार लगाउन सक्छ । त्यसैले जेनजी आन्दोलन नेपालको भविष्यप्रतिको एउटा आशा हो ।
जेनजी आन्दोलनलाई उत्तेजित युवाको हुटहुटी भनेर बेवास्ता गर्न मिल्दैन । यो समयको माग र समाजको आवश्यकतासँगै भविष्यको दिशानिर्देशक हो । शासक वर्गले यसको आवाजलाई सुन्ने, समाजले यसलाई समर्थन गर्ने तथा आन्दोलन आफैंले जिम्मेवार र परिपक्व रूप लिन सके नेपालले नयाँ अध्याय सुरु गर्न सक्छ ।

























