
काठमाडौं । नेपाली सेनाको गोली लागेर धादिङमा २ जना कैदीको मृत्यु भएको छ। कैदीबन्दीहरू नेपाली सेनाको सुरक्षा घेरा तोडेर भाग्न खोजेपछि सुरक्षामा खटिएको सेनाले गोली चलाएको थियो ।
गोली लागेर धादिङ बेनीघाटका ७५ वर्षीय जीतबहादुर घले र सुनवल नवलपरासी पश्चिमका ३६ वर्षीय इन्द्रबहादुर डालाको मृत्यु भएको धादिङका प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीले जानकारी दिए ।
उनका अनुसार घले जबरजस्ती करणी र डाला लागुऔषध मुद्दामा कैद सजाय काटिरहेका थिए ।
त्यस्तै, भागदौडमा अन्य ७ कैदीबन्दी घाइते भएका छन् भने उनीहरूलाई केन्द्रीय कारागार काठमाडौं पठाइएको छ । उनीहरूको अवस्था हेरेर उपचारका लागि अस्पताल पठाइने बताइएको छ ।
कैदी बन्दीहरुले बिहान ९ बजेदेखि नै बाहिर निस्कने प्रयास गरे पनि उनीहरूलाई रोक्न अनेकन् प्रयास गर्दा असम्भव भएपछि दिउँसो १ बजेर १८ मिनेटमा गोली चलाउनु परेको प्रजिअ सुवेदीले बताए ।
कैदीबन्दीले सेनामाथि नै आक्रमण गर्न थालेपछि बाध्य भएर गोली चलाउनु परेको बताइएको छ ।
स्थिति नियन्त्रणमा लिने क्रममा ६ जना सुरक्षाकर्मी पनि घाइते भएका छन् । उनीहरूको अवस्था सामान्य छ।

























