
विराटनगर । विराटनगरमा बन्दाकोपी लोड गरिएको बोलेरो गाडीबाट ठूलो परिमाणमा गाँजा बरामद भएको छ । गाँजाको ओसारपसार र कारोबारमा संलग्न रहेको आरोपमा ३ जना पक्राउ परेका छन् ।
विराटनगर महानगरपालिका–१५ पेट्रोल पम्पनजिकबाट शनिबार राति ११ः३० बजेतिर २ सय ६२ किलो ५ सय ८० ग्राम गाँजा बरामद गरिएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले बताए । उनका अनुसार इलाका प्रहरी कार्यालय रानीबाट खटिएको इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले गाँजा बरामद गर्नुका साथै ३ जनालाई पक्राउ गरेको हो ।
इन्स्पेक्टर राई नेतृत्वको टोलीले उत्तरबाट दक्षिणतर्फ तीव्र गतिमा गइरहेको मे १ च ५८२६ नम्बरको बोलेरो गाडीलाई रोक्न खोजेको थियो । तर, उक्त गाडी भगाइयो । खोजी गर्ने क्रममा नजिकै सडक किनारमा रोकेर राखेको अवस्थामा गाडी फेला परेको एसपी चिमरियाको भनाइ छ ।
उनका अनुसार बन्दकोपी लोड गरिएको गाडीमा लुकाइछिपाइ राखेको गाँजा बरामद गरिएको हो । ‘झट्ट हेर्दा गाडीमा बन्दाकोपी लोड गरेजस्तो देखिन्छ । तर, माथिबाट बन्दाकोपी लोड गरेर तल गाँजा राखिएको रहेछ,’ उनले भने ।
प्रहरीले गाँजासहितको गाडी नियन्त्रणमा लिएर तत्काल २ जनालाई पक्राउ गरेको थियो । सुनसरीको इटहरी उपमहानगरपालिका–५ की २० वर्षीया सञ्जु तामाङ र २२ वर्षीय निखिल घिमिरे पक्राउ परेका हुन् ।
सोधपुछ गर्दा गाडी चालक फरार भएको उनीहरुले बताए । पक्राउ परेकाहरुले गाँजा विराटनगर–१८ का श्यामकुमार यादवको रहेको प्रहरीलाई बताए । त्यसलगत्तै खटिएको प्रहरीले आईसीपी रोडनजिक पर्खिएर बसिरहेका यादवलाई पनि पक्राउ गरेको छ ।
पक्राउ परेका ३ जनालाई नै आवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय रानीमा राखिएको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ । बरामद गरिएको गाँजा र पक्राउ परेकाको बारेमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

























