
विराटनगर । सुनसरीको इटहरीबाट सशस्त्र प्रहरीले लागुऔषध गाँजा ५ हजार केजी बरामद गरेको छ ।
आइतबार बिहानका राति १ : ३० बजेतिर सशस्त्र प्रहरीले इटहरीमा ५ हजार केजी गाँजा फेला पारेको सशस्त्र प्रहरी बल कोशी प्रदेशस्तरीय नेपाल मुख्यालय पकली सुनसरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा सशस्त्र प्रहरीको टोलीले इटहरीको सडकमा रोकी राखेको २ वटा ट्रक शंकाका आधारमा चेकजाँच गर्दा १ सय ५८ बोरामा प्याक गरिएको गाँजा फेला पारेको हो ।
सशस्त्र प्रहरीका डीआइजी कुमार न्यौपानेका अनुसार बेवारिसे अवस्थामा पेट्रोल पम्प अगाडि राखेको अवस्थामा गाँजा फेला पारेको हो । उनका अनुसार गाँजा कहाँबाट ल्याएको र कसको भन्ने केही पनि खुल्न सकेको छैन ।
ना ४ ख २९०१ नम्बरको ट्रकबाट १ सय २४ बोरा र बा ५ ख ११६९ नम्बरको ट्रकबाट ३४ बोरा गरी जम्मा १ सय ५८ बोरामा ५ हजार केजी गाँजा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ ।
दुवै ट्रकका चालक फरार भएकोले खोजी कार्य भइरहेको र ट्रकसहित फेला परेको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय सुनसरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

























