
धरान । सुनसरीको धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२–०८३ का लागि २ अर्ब २० करोड ७४ लाख ५९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
शनिबार बसेको १७ औँ नगरसभामा उपमेयर अइन्द्रविक्रम बेघालेले नीति तथा कार्यक्रमसहित बजेट सार्वजनिक गर्दै आगामी वर्षका योजनाहरूको विवरण प्रस्तुत गरेका हुन् । उपमहानगरपालिकाले आगामी वर्ष आन्तरिक राजस्वबाट ८० करोड, संघीय सरकारबाट ८९ करोड, प्रदेश सरकारबाट ७ करोड, राजस्व बाँडफाँटबाट ३४ करोड, सडक बोर्डबाट २ करोड र गत वर्षको मौज्दातबाट ७ करोड रुपैयाँ प्राप्त हुने अनुमान गरेको छ ।
विनियोजित विवरण अनुसार सहरी योजना तथा भौतिक पूर्वाधारतर्फ सबैभन्दा बढी ६६ करोड ९४ लाख, शिक्षा, युवा तथा खेलकुदमा ४६ करोड ८५ लाख, स्वास्थ्यमा करिब ७ करोड, सामाजिक विकासमा ४ करोड ८६ लाख, वन, वातावरण, ऊर्जा र विपद् व्यवस्थापनमा २ करोड ७४ लाख, आर्थिक विकासमा १ करोड २९ लाख, कानुन तथा न्याय सम्पादनमा २० लाख, सार्वजनिक जग्गा संरक्षणमा १५ लाख, राजस्व परिचालनमा ४३ लाख र नगर भिजन कार्यक्रमतर्फ ५ करोड ५ लाख छुट्याइएको छ ।
धरानका २० वटै वडाका लागि छुट्टै २१ करोड रुपैयाँ विनियोजन गरिएको छ । नगर कार्यपालिकातर्फ निसर्त विनियोजन १ अर्ब ३१ करोड ९२ लाख, सर्तसहितको अनुदान ६० करोड ५६ लाख, समपूरक बजेट १ करोड ८२ लाख र विशेष अनुदान ५ करोड ४३ लाख विनियोजन गरिएको छ ।
आर्थिक वर्ष २०८१–८२ मा धरान उपमहानगरपालिकाले १ अर्ब ९१ करोड २७ लाख १८ हजार रुपैयाँ आय आर्जन गरेकोमा असार मसान्तसम्ममा १ अर्ब ५२ करोड ३२ लाख खर्च गरेको तथ्यांक पनि प्रस्तुत गरिएको छ । उपमहानगरपालिकाले यो बजेटमार्फत सहरी पूर्वाधार विस्तार, शिक्षा र स्वास्थ्य सुधार, सामाजिक विकास, वातावरण संरक्षण र वडास्तरीय विकासमा जोड दिने योजना अघि सारेको छ ।
धरानमा ‘बजेट होलिडे’को अन्त्य : २ अर्ब २० करोडको बजेट पारित, बोलाइयो नगरसभा

























