
विराटनगर । विराटनगरमा १ जना महिलामाथि तेजाब प्रहार भएको छ । घरयासी विवादका क्रममा देवरले भाउजूमाथि तेजाब प्रहार गरेका हुन् ।
विराटनगर महानगरपालिका–९ धोवियारीकी २९ वर्षीया रागिनी साहको अनुहारमा तेजाब प्रहार भएको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् । उनका अनुसार घटना सोमबार बिहान १०ः१५ बजेतिरको हो ।
भाउजूलाई तेजाब हानेर छोटु भनिने २२ वर्षीय श्रवण साह फरार भएका छन् । उनको खोजी भइरहेको जानकारी डीएसपी चुँडालले दिइन् । उनका अनुसार तेजाबले रागिनीको अनुहारमा चोट लागेको छ ।
आँखा भने जोगिएको छ । घाइते अवस्थाकी रागिनीको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । अवस्था खतरामुक्त रहेको जानकारी चिकित्सकले दिएका छन् ।
प्रहरीको प्रारम्भिक अनुसन्धानबाट लेनदेन विवादमा देवरले भाउजूलाई तेजाब प्रहार गरेको पत्ता लागेको छ । तेजाबले मानव शरीरमा क्षति पुर्याउँछ । छालामा पर्नसाथ पोल्ने, पिल्साउने, जीवनभरका लागि नशामा नोक्सान पुर्याउने र दृष्टि समेत गुम्ने भएकाले यसलाई मानव शरीरका लागि अति खतरनाक एवं हानिकारक मानिन्छ ।
तेजाब धातुहरु गलाउने शक्ति भएको रसायनिक पदार्थ हो । प्रायः तेजाब औद्योगिक काममा प्रयोग गरिन्छ । नेपालको कानुन अनुसार तेजाब प्रहार गम्भीर अपराध हो ।

























