
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी पूर्वमन्त्री टोपबहादुर रायमाझी र सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पुनः कारागार फर्किएका छन् ।
टोपबहादुर रायमाझी भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा सुन्धारा कारागारबाट भागेका थिए । २ सातापछि उनी कारागार फिर्ता भएका हुन् । रायमाझीसहित सुन्धारा कारागारबाट ३ हजार ३ सय कैदीबन्दी भागेका थिए भने देशभरका १४ हजार बढी कैदीबन्दी भागेका थिए ।
हाल करिब आधा कैदीबन्दी फिर्ता भइसकेका छन् । रायमाझी काठमाडौं जिल्ला अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागारमा छन् । उनीसँगै कारागारबाट निस्केका तत्कालीन गृहसचिव टेकनारायण पाण्डे भने अहिलेसम्म फिर्ता भएका छैनन् ।
यता, ३८ क्विन्टल सुन तस्करी प्रकरणका मुख्य अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पनि सुनधारा कारागार फर्किएका छन् । गोरे पनि भदौ २४ गते भागेका थिए । मोरङ उर्लाबारीका सनम शाक्य हत्या र दुबईबाट काठमाडौं ल्याएपछि हराएको साढे ३३ किलो सुन प्रकरणमा गोरे जोडिएका हुन् ।
अनुसन्धानका क्रममा गोरे समूह सन् २०१५ देखि २०१८ सम्म ३८ क्विन्टल सुन तस्करीमा संलग्न भएको पत्ता लागेको थियो । गोरेलाई जन्मकैदको फैसला भइसकेको छ ।

























