
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेपाल सरकारका पूर्वसचिव टेकनारायण पाण्डे र बेचन झा सुन्धारा कारागार फर्किएका छन् ।
गत २४ भदौमा जेनजी आन्दोलनको क्रममा भएको हिंसात्मक घटनापछि कारागार तोडफोड हुँदा उनीहरूसहित करिब ३ हजार ३ सय कैदीबन्दी फरार भएका थिए । मंगलबार साँझ पूर्वसचिव पाण्डे आफैं कारागार फर्किएका थिए भने बुधबार बिहान झा पनि स्वेच्छाले फर्किएको कारागार प्रशासनले जनाएको छ ।
मंगलबार साँझ नेकपा (एमाले)का उपाध्यक्ष रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापा पनि आफैं कारागार फर्किएका थिए । यसअघि एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी समेत कारागार फर्किएका थिए ।
त्यसैगरी मंगलबारै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भुटानी शरणार्थी प्रकरणमै संलग्न केशव दुलाल र सानु भण्डारीलाई पक्राउ गरी कारागारमा बुझाएको थियो । कारागार प्रशासनका अनुसार फरार कैदीबन्दीलाई स्वेच्छाले फर्किन आह्वान गरिएको । नफर्किनेलाई प्रहरीले पनि पक्राउ गरिरहेको छ ।

























