
काठमाडौं । प्रतिनिधिसभा निर्वाचनको मिति घोषणा भइसकेको परिप्रेक्ष्यमा निर्वाचन आयोगले बुधबारदेखि मतदाता नामावली संकलनको काम औपचारिक रूपमा सुरु गरेको छ ।
सरकारले जेनजी आन्दोलनपछिको नयाँ राजनीतिक परिस्थितिलाई ध्यानमा राखेर अध्यादेशमार्फत कानुनी अवरोध हटाइएपछि दर्ता प्रक्रिया सुरु भएको हो । आगामी फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै सुरु गरिएको यस प्रक्रियामा १६ वर्ष उमेर पूरा भइसकेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका नागरिकले नाम दर्ता गराउन सक्ने आयोगले जनाएको छ ।
मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य देशभरका प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयहरूमा गर्न सकिनेछ । यसका लागि सार्वजनिक बिदाबाहेक प्रत्येक दिन बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म समय तोकिएको छ ।
आयोगका अनुसार विवाह भई अन्यत्र गएका वा बसाइँ सरेका मतदाताले आफ्नो नाम स्थानान्तरण गर्न सक्ने, नाम वा विवरणमा त्रुटि भए सच्याउन सक्ने र नयाँ मतदाता दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । राजनीतिक परिवर्तनमा सक्रिय भूमिका खेलेका जेनजी पुस्ताका धेरै युवाहरूले कानुनी बाध्यताका कारण अहिलेसम्म मतदाता नामावलीमा नाम दर्ता गर्न नपाएको भन्दै आलोचना हुँदै आएको थियो ।
यही कारण सरकारले बुधबार अध्यादेश जारी गरी उनीहरूको नाम दर्ताको बाटो खुला गरेको हो । निर्वाचन आयोगले अब कात्तिक ३० गतेसम्म निरन्तर दर्ता अभियान सञ्चालन गर्ने जनाएको छ ।
निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली संकलन कार्य स्वतः स्थगित हुन्थ्यो । तर, अध्यादेश ल्याएर मतदाता नामावली संकलनको काम सुरु गरिएको हो । यसअघि दर्ता गरेका सबै मतदाताले आगामी निर्वाचनमा मतदान गर्न पाउने छन् ।

























