
काठमाडौं । जेनजी आन्दोलनका क्रममा कारागारबाट भागेका कैदीबन्दी खोजीका लागि सरकारले कार्यदल गठन गरेको छ । मन्त्रीस्तरीय निर्णयले सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयोजक रहने गरी ‘फरार बन्दी खोजी तथा पक्राउ कार्यदल’ गठन गरेको हो ।
कार्यदलमा सम्बन्धित जिल्लाका प्रजिअ संयोजक रहने र अन्य निकायका प्रतिनिधिहरू सदस्य रहने छन् । कार्यदलले फरार कैदीबन्दीको खोजी, नियन्त्रण तथा पक्राउ अभियान सञ्चालन गर्नेछ ।
सरकारले कारागारबाट फरार कैदीबन्दीहरूलाई अविलम्ब कारागारमा फिर्ता हुन आग्रह समेत गरेको छ ।
जेनजी आन्दाेलनका क्रममा देशभरका २८ कारागार र ९ सुधारगृहबाट भागेका १४ हजार ५४९ कैदीबन्दीमध्ये आठ हजार ५४ जना कारागारमा फर्किएका छन् । अझै ६ हजार ४९४ कैदीबन्दी फरार छन् ।

























