
विराटनगर । पूर्वपश्चिम लोकमार्गअन्तर्गत सुनसरीको कोशी गाउँपालिकाबाट प्रहरीले बेवारिस अवस्थामा रहेको ६ सय केजीभन्दा लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
कोशी गाउँपालिका–७ स्थित लोकमार्गको सडक किनारामा बेवारिस अवस्थामा रहेका बोरा खोलेर हेर्दा लागुऔषध गाँजा भेटिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी दीपक पोखरेलले जानकारी दिए ।
उनका अनुसार चाडपर्व विशेष सुरक्षा अभियानअन्तर्गत गस्तीमा रहेका अस्थायी प्रहरी चौकी हरिपुरको टोलीले असोज १२ गते बिहानका राति २ : १८ बजेतिर उक्त गाँजा बरामद गरेको हो ।
सडक किनारामा १८ वटा प्लास्टिकको बोरामा प्याक गरी राखिएको अवस्थामा गाँजा फेला पारेको थियो । बरामद गरिएको गाँजाको ६ सय ३७ किलो ४५ ग्राम रहेको छ। गाँजा बेवारिसे अवस्थामा भेटिएपछि यसमा संलग्न व्यक्तिहरूको खोजतलास जारी रहेको प्रहरीले जनाएको छ।
यसैबीच, उदयपुरको अस्थायी प्रहरी पोस्ट नेपालटारको टोलीले चेकजाँचको क्रममा सिराहा लहान नगरपालिका–१७ की ३५ वर्षीया लीलादेवी रामलाई ६ किलो ८ सय ४६ ग्राम गाँजासहित र लहान–८ की २२ वर्षीया अस्मिता रामलाई ५ किलो ६ ग्राम गाँजासहित नियन्त्रणमा लिएको छ।
प्रहरीले बरामद गरिएका गाँजा र पक्राउ परेका व्यक्तिहरू नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























