
काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले राजीनामाको चेतावनी नदिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरेले शुक्रबार विज्ञप्ति जारी गर्दै विभिन्न सञ्चारमाध्यममा आईजीपीले राजीनामा दिने चेतावनी दिएको भनेर समाचार आएको भन्दै त्यसको खण्डन गरेका छन् । प्रधानमन्त्री सुशीला कार्की र गृहमन्त्री ओमप्रकाश अर्यालसमेत भएको सुरक्षा बैठकमा यस्तो विषयमा कुनै कुरा आईजीपी खापुङले नगरेको विज्ञप्तिमा उल्लेख छ ।
‘केही दिन यता विभिन्न पत्र पत्रिकाहरू र सञ्चार माध्यमहरूमा प्रकाशित वा प्रसारित प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङले ‘पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न दबाब सृजना गरिए वा बाध्य बनाइए राजीनामा दिन्छु’ भनेको भन्ने आशयका भ्रामक समाचारहरूको सम्बन्धमा नेपाल प्रहरी प्रधान कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ । सुरक्षा चुनौतीहरूको बारेमा मात्रै विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा बैठक केन्द्रित रहेको दाबी गरिएको छ ।
‘प्रहरी महानिरीक्षकज्यूले कहीँ कतै त्यस्तो आशय झल्कने अभिव्यक्ति नदिएको जानकारी गराउँदै सम्माननीय प्रधानमन्त्रीज्यू र माननीय गृहमन्त्रीज्यूसँग भएका सुरक्षा बैठक र प्रतिवेदनहरूमा समसामयिक घटनाक्रमहरू वा सोबाट सृजित सुरक्षा चुनौतीहरूको बारेमा विश्लेषण गर्दै शान्ति सु–व्यवस्था कायम गर्ने विषयमा मात्र केन्द्रित भई सौहार्दपूर्ण छलफल गरेको व्यहोरा सम्बन्धित सबैलाई सूचित गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ । विभिन्न समाचारहरूमा आईजीपी खापुङले पद छाड्ने चेतावनी दिएको भनेर समाचार आएपछि प्रहरी प्रधान कार्यालयले त्यसको खण्डन गरेको हो ।


























