
झापा । झापाको दमकमा हत्या गरिएको अवस्थामा पुरुषको शव फेला परेको छ । दमक नगरपालिका–७ स्थित पशुहाटस्थित टहरामा गाईवस्तुले पानी खाने नालीभित्र शव भेटिएको हो ।
हत्या गरेर नालीमा फालेको अवस्थामा शुक्रबार शव फेला परेका अन्दाजी ५० वर्षीय पुरुषको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । अनुहार तथा दाहिनेतर्फको गालामा धारिलो हतियारले प्रहार गरेको चोट रहेको अवस्थामा शव फेला परेकाले पुरुषको हत्या भएको निष्कर्षमा प्रहरी पुगेको छ ।
‘अहिलेसम्म मृतकको सनाखत भएको छैन । घटनाको थप अनुसन्धान भइरहेको छ,’ प्रहरीका १ अधिकारीले भने । प्रहरीले कानुनी प्रक्रिया पूरा गरेर घटनास्थलबाट शवलाई पोस्टमार्टमका लागि मोरङ उर्लाबारीको मंगलबारेस्थित मदन भण्डारी अस्पताल एवं ट्रमा सेन्टर पठाएको छ ।
लागुऔषध सेवनकर्ताबीचको विवादका कारण हत्या भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । यद्यपि, पुष्टि भइसकेको छैन । हत्यामा संलग्न भएको आशंकामा ३ जनालाई नियन्त्रणमा लिएर घटनाको विस्तृत अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।
सबै जनालाई प्रहरीले शुक्रबार राति नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएकाहरुको विवरण गोप्य राखिएको छ । घटना अनुसन्धानकै क्रममा रहेको एवं हत्यामा उनीहरुको संलग्नता छ कि छैन भनेर यकिन हुन नसकेकाले नाम र ठेगाना खुलाउन नमिल्ने प्रहरीले जनाएको छ ।
प्रहरीले मृतकको पहिचानको प्रयास गर्दै घटनाको कारण खुलाउन विभिन्न कोणबाट अनुसन्धान सुरु गरिएको उल्लेख गरेको छ । इलाका प्रहरी कार्यालय दमकका डीएसपी रामप्रसाद तिमल्सिना नेतृत्वको टोलीले घटनाको अनुसन्धान गरिरहेको छ ।

























