
धरान । सुनसरीको धरान उपमहानगरपालिका–२० बाट ठूलो मात्रामा लागुऔषधसहित २ जना युवक पक्राउ परेका छन् ।
लागुऔषध ओसारपसार भइरहेको विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले शनिबार राति ८ः२० बजेतिर धरान–८ का १९ वर्षीय नलन तामाङ र २१ वर्षीय प्रकाश लिम्बूलाई पक्राउ गरेको हो । तामाङले चलाएको को २८ प २४१० नम्बरको स्कुटरको पछाडि सवार लिम्बूको साथमा लागुऔषध फेला परेको सुनसरी प्रहरी प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए ।
उनका अनुसार लिम्बूले बोकेको कालो झोलाभित्र ट्रमाडोल २ हजार ७ सय र डाइक्लोमिन २ हजार ५ सय १० गरेर ५ हजार २ सय १० क्याप्सुल लागुऔषध बरामद भएको छ । लागुऔषध बरामद भएपछि स्कुटरसहित दुवै जनालाई पक्राउ गरेर इलाका प्रहरी कार्यालय धरानमा राखिएको छ ।
पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । थप अनुसन्धान भइरहेको जानकारी प्रहरीले दिएको छ ।

























