
काठमाडौं । पटक–पटक विवादमा आइरहने पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ परेका छन् । उनलाई आज आइतबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको हो ।
सीआईबी प्रमुख एआईजी मनोज केसीका अनुसार भेप मार्फत सुन तस्करीको अनुसन्धानका लागि उनी पक्राउ परेका हुन् । १० पुस २०७९ मा फ्लाई दुबईको फ्लाइटनम्बर एफजेट ०५८७ नम्बरबाट काठमाडौं आएका चिनियाँ राहदानी बाहक लि हानसोङले २ वटा सुटकेशमा भेप ल्याएका थिए ।
उक्त भेपमा सुन लुकाइएको थियो । विमानस्थल भन्सारमा सुन छुटाउन दबाब दिएका कारण उनी विवादमा आएका थिए ।
महरा यसअघि जवरजस्ती करणी मुद्दामा पनि पक्राउ परेका थिए । भेप मार्फत सुन तस्करी प्रकरणमा उनका छोरा राहुल महरा यसअघि पक्राउ परेका थिए ।

























