
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेश सभा सदस्य सरोज कुमार सिंहसहित १६ जनामाथि विशेष अदालतमा आरोपपत्र दायर गरेको छ।
महोत्तरी क्षेत्र नं. ४ (ख) बाट निर्वाचित प्रदेशसभा सदस्य सिंहलाई अख्तियारले घुस लिएको आरोपमा मुद्दा दायर गरेको हो। उनीसँगै रमेश मडर, अमलेश कुमारी, दिपाराज देवी राजपुत, भिखारी राउत कुर्मी, भुपेन्द्र कुमार झा, मन्जु देवी पासमान, रामनाथ सहनी, स्वीकृती देवी, रामशरण खत्वे, बिभा देवी खत्वे, शम्भु कुमार मण्डल, योगेन्द्र महतो, सुनयना कुमारी, यमुना प्रसाद महतो र कौशिल्या देवी गरी १६ जनाविरुद्ध आरोपपत्र दायर गरिएको छ।
३८ लाख घुस लिएको आरोप
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार प्रदेश सांसद सिंहले विभिन्न विद्यालय तथा मन्दिरसँग सम्बन्धित उपभोक्ता समितिहरूको खातामा जम्मा भएको कुल १ करोड ३६ लाख २७ हजार ४८१ मध्ये ३८ लाख ५० हजार ३१९ (करिब २८.२५ प्रतिशत) रकम घुसस्वरूप लिएको पाइएको छ।
उक्त घुस रकम सिंहले आफ्नो र श्रीमतीको संयुक्त खातामा जम्मा गरेको अख्तियारको दाबी छ। अनुसन्धानका क्रममा उनले सो रकमको केही हिस्सा आफ्ना स्वकीय सचिव विनोद कुमार लाल कायस्थको खातामा समेत जम्मा गराएको पाइएको अख्तियारले जनाएको छ। अख्तियारले भ्रष्टाचार निवारण ऐनअन्तर्गत कारबाही माग गर्दै उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

























