डीआईजी ईश्वर कार्कीको निर्देशन : ‘चाडपर्व रमाइलो होस्, तर मर्यादाभित्र, सुरक्षित र भयरहित वातावरणमा’

Share this
656shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ कात्तिक २, आइतबार १७:२९

विराटनगर । कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले प्रदेशका सबै जिल्लासहित विभिन्न युनिटका प्रहरी प्रमुखहरुलाई चाडपर्वका बेला विशेष सुरक्षा सतर्कता अपनाउन निर्देशन दिएका छन् ।

तिहार, छठलगायतलाई लक्षित गर्दै कार्कीले सन्तुलित, मर्यादित र भयरहित वातावरणमा चाडपर्व मनाउने वातावरण तयार पार्न निर्देशन दिएका हुन् । कोशी प्रदेशमा १४ वटा जिल्ला छन् ।

भर्चुअल बैठकमार्फत आइतबार डीआईजी कार्कीले सबै जिल्लाका प्रहरी कार्यालय प्रमुखहरूलाई चाडपर्वको अवधिमा हुन सक्ने अवाञ्छित गतिविधिहरू रोकथामका लागि जिम्मेवारीपूर्वक प्रहरी परिचालन गर्न निर्देशन दिए । उनले पर्वको अवसरमा जनमानसमा उल्लास र उत्साह बढ्ने भए पनि त्यसकै आडमा हुन सक्ने चोरी, तस्करी, कालोबजारी, मदिरा तथा लागुऔषधको ओसारप्रयोग, झैझगडा, जुवातास र अन्य समाजविरोधी क्रियाकलापलाई रोकथाम गर्न कडाइका साथ प्रहरी परिचालन गर्नुपर्नेमा जोड दिएका छन् ।

डीआईजी कार्कीले भने, ‘पर्व हाम्रो संस्कृतिको उत्सव हो । तर, यसलाई मर्यादाभित्र राख्दै सबै नागरिकले निडर र सुरक्षित वातावरणमा मनाउन पाउनुपर्छ । त्यसका लागि प्रहरी सतर्क, सजग र संवेदनशील हुनुपर्छ ।’ उनले प्रदेशका सबै नाका र सीमाक्षेत्रमा विशेष निगरानी राख्न पनि निर्देशन दिएका छन् ।

भारतसँग जोडिएका खुला सीमाबाट हुने चोरी, तस्करी र अवैध पदार्थको ओसारपसार नियन्त्रणका लागि प्रहरी सशक्त रूपमा लाग्नुपर्ने उनको भनाइ छ । साथै, बजारमा कृत्रिम अभाव सिर्जना गरी मूल्यवृद्धि गर्ने कालोबजारिया तत्वहरूलाई कानुनी दायरामा ल्याउन जिल्ला प्रशासन कार्यालय र उद्योग वाणिज्य संघलगायतका निकायसँग संयुक्त अनुगमनमा प्रहरी खटिनुपर्ने कार्कीले बताए ।

चाडपर्वको समयमा लाग्ने मेला, पूजा, संगमस्थल तथा भिडभाड हुने सार्वजनिक स्थानमा प्रहरीको उपस्थिति बढाउन र सुरक्षात्मक गस्तीलाई अझ सक्रिय बनाउन उनको निर्देशन छ । डीआईजी कार्कीेले बैंक तथा वित्तीय संस्था, सुनचाँदी पसल र भिडभाड हुने बजार क्षेत्रहरूमा विशेष निगरानीका लागि सादा पोसाकमा प्रहरी परिचालन गर्न, सीसीटीभी अनुगमनलाई बलियो बनाउन र यात्रुहरूको आवागमनमा सहजता ल्याउन ट्राफिक व्यवस्थापनलाई विशेष ध्यान दिन निर्देशन दिए ।

पर्वको बेला सवारी दुर्घटना बढ्ने भएकाले क्षमता भन्दा बढी यात्रु बोक्ने सावरीसाधनलाई कारबाही गर्न, सवारी चालकको मादक पदार्थ सेवन (मापसे) परीक्षण गर्न र जोखिमयुक्त मार्गमा प्रहरी उपस्थितिलाई बढाउन उनको निर्देशन छ । डीआईजी कार्कीले मौसमी असहजतालाई ध्यानमा राखेर अन्य सुरक्षा निकाय तथा स्थानीय तह र सरोकारवालासँग समन्वय गरेर काम गर्न निर्देशन दिए ।

‘जनताको सुरक्षासँगै उनीहरूको जीवन र सम्पत्तिको रक्षा प्रहरीको पहिलो कर्तव्य हो,’ उनले भने, ‘त्यसका लागि हामीले कुनै कमजोरी हुन दिनु हुँदैन ।’ बैठकमा कोशी प्रदेश प्रहरी तालिम केन्द्र विराटनगरका समादेशक, एसएसपी गोविन्द अधिकारी, प्रदेश प्रहरी प्रवक्ता एसएसपी दीपक पोखरेललगायतका प्रहरी अधिकारीहरु उपस्थित थिए ।

भर्चुअल बैठकमा विभिन्न जिल्ला प्रहरी प्रमुखहरुले आफ्ना जिल्लामा चाडपर्व सुरक्षा योजनाका बारेमा डीआईजी कार्कीलाई जानकारी गराएका थिए । बैठकमा सहभागी केही जिल्ला प्रहरी प्रमुखहरूले सुरक्षा योजना लागू गरेर काम थालिएको, संवेदनशील ठाउँमा गस्ती बढाइएको र नागरिकहरूसँग सहकार्यमा ‘सुरक्षित पर्व’ अभियान संचालन गरिएको जानकारी दिएका छन् ।

डीआईजी कार्कीले प्रहरीको भूमिका जनताको विश्वसनीय अभिभावकको रूपमा देखिनुपर्ने बताए । ‘सबै नागरिकले शान्त, सुरक्षित र उल्लासपूर्ण वातावरणमा पर्व मनाउन पाऊन् । त्यो सुनिश्चित गर्नु नै हाम्रो साझा जिम्मेवारी हो । चाडपर्व रमाइलो होस् । तर, मर्यादाभित्र, सुरक्षित र भयरहित वातावरणमा,’ उनले भने ।

तपाइको प्रतिक्रिया
शीर्ष नेताको सम्बोधन, रित्तो दर्शक दीर्घा: मोरङमा कांग्रेस इतर पक्षको अधिवेशन
बहिरा फुटबल टोली दक्षिण कोरिया जाने
मत्स्यपोखरीमा चार दिन पर्यटन, संस्कृति र साहित्यको उत्सव
राप्रपामा अध्यक्षका लागि आधा दर्जन नेताको दौडधुप, लिङ्देनलाई चुनौती
लुम्बिनीले टस जितेर बलिङ रोज्दा सुदूरपश्चिम पहिले ब्याटिङ गर्दै
विराटनगरमा कर दिवस मनाइयो, करदातामैत्री प्रणालीमा जोड
प्रहरीको नाममा भ्रामक सूचना फैलाउने दुई जना नियन्त्रणमा पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ
नोबेल मेडिकल कलेज छैटौँ पटक उत्कृष्ट करदाता सम्मानबाट सम्मानित
रुसी खगोल विज्ञान ओलम्पियाडमा एभरेस्टकी स्नेहालाई कांस्य
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.