सांकेतिक तस्बिरविराटनगर । संखुवासभामा धारिलो हतियार प्रहार गरी एक जना पुरुषको हत्या भएको छ । खाँदबारी नगरपालिका–९ सालबिसाउने टोलमा आज (मंगलबार) साँझ एक जनाको हत्या भएको हो ।
प्रहरीका अनुसार स्थानीय विक्रम कुमालले कर्णबहादुर कुमालको हत्या गरेका हुन् । संखुवासभाका डीएसपी कुमारप्रसाद मैनालीका अनुसार विमानस्थल सुरक्षागार्ड तुम्लिङटारले साँझ करिब ७ बजे हत्या भएको जानकारी पाएको थियो ।
जानकारीलगत्तै प्रहरी नायव निरीक्षक देवीबहादुर कार्कीको कमाण्डमा टोली खटिएर घटनाबारे अनुसन्धान गरिरहेको छ । डीएसपी मैनालीका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा धारिलो हतियार प्रयोग गरी हत्या भएको पाइएको छ ।
घटनास्थलमा आवश्यक अनुसन्धान जारी राख्दै शवलाई पोस्टमार्टमका लागि जिल्ला अस्पताल संखुवासभा पठाइएको प्रहरीले जनाएको छ ।

























