
विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानबाट २ जना भारतीय नागरिकसहित ३ जनालाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको छ ।
भान्टाबारी र श्रीपुरजब्दीबाट ब्राउनसुगर र गाँजासहित ३ जना पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय भान्टाबारीको टोलीले भारतको सुपौलका २० वर्षीय नबी हुसेन र सप्तरीका १९ वर्षीय मोहम्मद खुसिदलाई ब्राउनसुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
प्रहरीका अनुसार उनीहरूको साथ बाट ५३० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ परेका हुन् ।
त्यस्तै, प्रहरी चौकी श्रीपुरजब्दीको टोलीले भारतको सुपौलका २० वर्षीय मोहम्मद इम्तियाजलाई लागुऔषध गाँजासहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका इम्तियाजले प्रदेश–१–०२–००३ ह ८७०५ नम्बरको सिटी रिक्सामा ४ बोरामा लुकाएर लैजाँदै गरिएको १२० किलोग्राम गाँजा बरामद भएको थियो । पक्राउ परेकाहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























